२०८२ मङ्सिर २७ गते शनिवार

पानी पर्दा डाँडोमा भाग्ने जहरेबासीहरु…


दाङ,साउन ८ । लमही ८ जहरे निवासी ७० बर्षीया बर्कन्या चौधरीले मंगलवार रातभर सुत्न सकिनन् । कारण थियो बर्षा । उनी धेरै पटक उठेर नजिकैको राप्ती हेरिन। ठूलो पानी त परेको थिएन। तैपनि अघिल्ला बर्षहरुमा राप्तीको बाढी सताएको उनी लगाएत जहरे गाउँवासी कसैले विर्सेका छैनन् । रातारात बालबच्चालाई च्यापेर भागेको । घाँटी घाँटीको पानी तरेर ज्यान जोगाउन राजमार्ग क्षेत्रमा गएर बसेको । गत असार २७ गतेपनि बाढी गाउँसम्म आयो । तर घरमा पसेन ।

बुधवार पनि सतवरिया र गोझेनाको झरणले स्थानीय कुलो भरिएर बाटो नदेखिने भइसकेको छ । राप्तीको बाढीले त्यसको बहाब ठम्मै रोकिएको छ । त्यसैले कतिबेला भागेर जानुपर्ने हो भन्ने त्रासदी कायमै छ । ४५ बर्षीया माघी चौधरीले अशक्त बृद्धबृद्धा र बालबालिकालाई भने पहिले नै डाँडोमा पठाई सकेको बताइन । ‘बाढी आउना साथ भाग्ने तयारी गरेर बसेका छौं,’ माघीले भनिन् ‘अति आवश्यक सामाग्री अट्वामा राखि सकेका छौं।’ नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले २०५४ सालतिर राप्तीमा तटवन्ध निर्माण गरिदिएको हुँदा हालसम्म गाउँलेहरु विस्थापित भने हुनु परेको छैन । तर, सालिन्दा बाढी भने बस्तिमा पसि रहन्छ । स्वर्गीय नेतापछि राप्ती नदीको कटान नियन्त्रण गर्न राज्यले चासो नदिएको हुँदा यहाँको धेरै जग्गा बगरमा परिनत भइसकेको छ ।

लमही–८ स्थित धनपरुवा बस्ती राप्ती नदीका कारण वर्षौंदेखि डुबान र बाढीको चपेटामा छ। स्थानीयवासी हरेक बर्खामा घर छोडेर ज्यान जोगाउन भाग्न बाध्य छन् । धनपुरा दैविक विपत समुदायका अध्यक्ष लक्ष्मीप्रशाद चौधरीले त्यहाँका ८० घरपरिवार बाढीको उच्च जोखिममा रहेको बताए । एक डेढ घण्टा पानी परे अब के गर्ने र सुरक्षित रहन कसरी भाग्ने भन्ने सोच्नु पर्ने परिस्थिति रहेको चौधरीले बताए ।

कैयन् पटक बालबालिका र वृद्धलाई बोकेर रातारात भागेको उनले विर्सेका छैनन् । स्थानीय माघी चौधरीले पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताइन । घर भित्र बाढी पस्दा अन्न र लत्ता कपडा बाली चौपट हुने गर्छन । जोगाउन कतिले अट्वामा राख्छन् । त्यसमा सबै सामान अटाउँदैन । माघीले भनिन् –‘बाढीले बर्षेनी सताउँछ । हामीले बस्ती बर्षेनी छाड्नु पर्छ ।’ बालबच्चा च्यापेर बाढी रात विरात बाढीबाट जोगिन राजमार्ग जानु पर्ने बाध्यता गाउँले सबैलाई रहेको उनले बताइन । उनले सबै गाउँले त्यसैगरी भागेर राजमार्ग क्षेत्रको डाँडामा सुरक्षाको लागि बाढी आउँदा भागेर जाने गरेको बताइन ।

 

७६ वर्षीय बुद्धिराम केसी कयौं पटक राप्ती भेलमा बगेपनि जोगिएको अनुभव छ । एकपटक भैंसीको पुच्छर समातेर जोगिएको र एक पटक स्थानीय चौधरीले उद्धार गरेर जोगाएको उनले बृतान्त सुनाए ।

स्थानीय २२ बर्षीया उर्मिला चौधरीको पनि बाढी आउँदा दुई दिन घरको छाना माथि बसेर ज्यान जोगाएको बताइन ।

बाढी आउँदा भोकभोकै बस्नु परेको उनले पीडा सुनाइन । स्थानीयहरुले बाढी बाट जोगिन काठको खामाहरु बाट निर्माण गरेको अट्वा बनाएका छन् । जसमा उनीहरुले आपत पर्दा आवश्यक पर्ने अत्यावशेक बस्तुहरु खाद्यान्न, लत्त्ता कपडा राख्ने गर्छन । घर र गाउँको सुरक्षाको लागि घरका एकजना सदस्य बाढी आउँदा यिनै अट्वाहरुमा बसेर ज्यान जोगाउने गर्छन । केही दिन पुग्ने लत्ता कपडा, खाद्यान्न यो अट्वामा राखिएको हुन्छ । लगातार एकाध घन्टा पानी परेपछि बस्तिका बालबालिका र बृद्धबृद्धाहरुलाई राजमार्ग क्षेत्रको डाँडोमा लैजाने क्रम सुरु हुन्छ । बाढीले बस्ती पुरै डुब्ने हुँदा त्यस्तो गर्नु परेको उर्मिलाले बताइन ।

रेडक्रस सोसाइटी दाङले यस क्षेत्रलाई सबैभन्दा जोखिम युक्त क्षेत्र मान्दै बाढी परियोजना कार्यक्रम लागु गरेको छ । यहाँ विपद्पूर्व तयारी तथा बाढीपूर्व सूचना प्रणाली सबलीकरण परियोजना सञ्चालन गरेको रेडक्रसका प्रकाश डाँगीले जानकारी दिए । रेडक्रसले यहाँ स्थानीयमा बाढी सचेतना बढाउने, विपद्पूर्व तयारीबारे जानकारी दिने, पूर्वसूचना दिने प्रणालीको विकासमा समुदायलाई क्रियाशील बनाउने जस्ता कामहरु गर्दै आएको डाँगीले बताए । हालसालै वडा कार्यालयको डेढ लाख र रेडक्रसको साढे ३ लाख जति रकम बाट जहरे गाउँमा बाटोमा रहेको कुलोमा पक्की तट्वन्ध निर्माण गर्ने काम पुरा भएको छ ।

बस्ती जोगाउन तथा राप्तीको कटान नियन्त्रण गर्न राज्यले भने कुनै पहल गरेको छैन । सुरक्षित रुपमा तटबन्ध निर्माण गर्न सके बस्ति सुरक्षित हुने देखिन्छ । त्यो काम राज्यले अविलम्व गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *