
घोराही , बैशाख २५ ।
फुटबल खेल, खेलाडी तथा खेलसम्बन्धी विविध पक्ष समेटिएको पुस्तक ‘इनसाइड फुटबल’को विमोचन गरिएको छ ।
लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर ओलीले लेखेको पुस्तकको घोराही उपमहानगरपालिका–१७ उखुवारीस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा बिहीवार बिमोचन गरिएको हो ।
पुस्तकको विमोचन नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैया, नवलपुर फुटबल एकेडेमीका अध्यक्ष दिपक पुन, बडहरा फुटबल क्लबका अध्यक्ष इराक घर्तीलगायतले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रमका अतिथि बिपुल पोख्रेलले फुटबल खेलप्रति रुची राख्ने बालबालिका, खेलाडी तथा खेल पत्रकारका लागि पुस्तक उपयोगी हुने बताए । उनले पुस्तकले फुटबललाई गहिरो रूपमा अध्ययन गर्न तथा खेलसम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने बताए ।
अर्का बक्ता सविन प्रियासनले खेलसम्बन्धी प्राविधिक ज्ञान दिने यस्ता पुस्तकले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय तहले खेलकुदलाई पाठ्यक्रमसँग जोडेर बालबालिकालाई खेलसम्बन्धी आधारभूत ज्ञान दिन आवश्यक रहेको बताए । अर्का बक्ता अध्यक्ष सन्तोष सुवेदीले फुटबलसम्बन्धी अध्ययन तथा खेल रिपोर्टिङ गर्ने पत्रकारका लागि पुस्तक उपयोगी सामग्री बन्ने बताए ।
प्रदीप मजगैयाले पुस्तकले दाङमा फुटबल खेलको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलकुद गतिविधि भइरहेपनि व्यावसायिक अध्ययन र प्रशिक्षणको अभाव रहेको अवस्थामा पुस्तकका लेखकले एकेडेमी सञ्चालनसँगै पुस्तक प्रकाशन गरेर महत्वपूर्ण योगदान दिएको बताए ।
अर्का बक्ता दिपक पुनले फुटबलप्रति रुचि राख्ने बालबालिकाका लागि पुस्तक अध्ययनको महत्वपूर्ण माध्यम बन्ने बताए । उनले दाङमा फुटबलसँगै समग्र खेलकुदको राम्रो सम्भावना रहेको भन्दै सवैको सहकार्यमा आगामी दिनमा गोल्डकप जस्ता ठूला प्रतियोगिता सञ्चालन गरेर खेलकुद क्षेत्रको विकासका लागि लाग्नु पर्ने सुझाए ।
कार्यक्रमको सहजीकरण पुस्तकका लेखक तथा लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर ओलीले गरेका थिए ।