तुलसीपुर, बैशाख २४ ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी तोकिएको छ ।
बैठकले गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको ‘अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णयपनि गरेको छ ।
प्रदेश प्रशासनिक परिसरभित्र नवनिर्मित भवनबाट सेवा प्रवाहका लागि आवश्यक फर्निचर लगाएतको व्यवस्थापन गर्न बजेट फुकुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार