
दाङ,साउन ७ । नेपाली काँग्रेस दाङले किसानका लागि आवश्यक मल बिउ, नागरिकलाई सुलभ स्वास्थ्य र विकास निर्माणमा सुधार गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस दाङले जिल्लामा उत्पन्न भएका विभिन्न समस्याहरुका विषयमा सरकारलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको छ । खेतिपातीको चटारो लागेको बेलामा अहिलेसम्म पनि किसानले मल पाउन नसकेको भन्दै सरकारले किसानलाई अन्याय गरेको आपत्ति जनाएको छ ।
काग्रेस दाङका सभापति कीर्तिबहादुर खड्कासहित जिल्लाका नेता, भातृ संघ संगठन, कार्यकता तथा शुभेच्छुकसहित सयौंको सहभागीतामा पार्टी कार्यालय घोराहीबाट सरकारविरुद्ध नारावाजी गर्दै जिल्ला प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले सरकारविरूद्ध चर्काे नारा लगाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत कांग्रेस दाङले बुझाएको ज्ञापन पत्रमा किसानलाई अविलम्ब मल बिउको ब्यबस्था गर्न माग गरेको छ ।
मुठि रोपेर मुरी फलाउने गरी मेहनत गरिरहेका किसान मल बिउको चरम अभावका कारण निराश भएकाले तत्काल मल बिउको आपुर्ति नगरे जस्तो सुकै कदम चाल्न बाध्य हुने पनि सभापति खड्काले ज्ञापन पत्र बुझाउँदै चेतावनी दिए ।
यसैगरी , स्थापनाकालबाटै विवादित बनेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलगायत राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल, राप्ती प्रादेशिक आयुर्बेद चिकित्सालयसहितका स्वास्थ्य संस्थाको सुधारसहित स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन माग गरिएको छ ।
ज्ञापन पत्रमा दाङमा निर्माणाधीन सडक, पुलपुलेसा बनाउनमा भइरहेको ढिलासुस्तीका कारण आम नागरिकले भागिरहेको सास्ती प्रति सरकारले चासो लिन नसकेको आरोप पनि लगाइएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लाको समग्र सुधार गर्नु पर्ने अवस्थाबारे आफु अत्यन्तै गम्भीर रहेको बताए । उनले प्रमुख प्रतिपक्षीको रुपमा मात्रै नभई जिल्लावासीको नाताले यहाँको विकास र सुशासनमा कांग्रेसले देखाएको चासो अत्यन्तै सकारात्मक रहेकाले आफुलाई प्राप्त भएको ज्ञापन पत्र अविलम्ब प्रधानमन्त्री कार्यालयमा पठाउने र जिल्लाको अवस्था बारे पनि जानकारी गराउने बताए ।
यस्तै, उनले जिल्लामा देखिएको मल अभावलाई केही भए पनि सहज बनाउन भैरहवाबाट मल आपूर्ति गर्न लागिएको जानकारी ज्ञापन पत्र बुझाउन गएका कांग्रेस नेता कार्यकर्तालाई गराएका छन् । उनले सम्भवत आज नभए भोलिसम्ममा जिल्लामा केही भएपनि मल आउने बताए । पार्टी सभापति खड्काले सरकारले आफुहरुले उठाएका मागलाई तत्काल पुरा नगरे दवाबमूलक कार्यक्रम गर्ने चेतावनी दिए ।
