२०८२ मङ्सिर २३ गते मङ्गलवार

एक वर्ष भित्र कमैयाहरूको समस्या समाधान हुन्छ : प्रतिनिधि सभा सदस्य चाैधरी


ओमप्रकाश गुप्ता,
देउखुरी, साउन २ । प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले १ वर्ष भित्र कमैया,सुकुम्बासीहरूको पुर्नस्थापना र व्यवस्थापनको काम नेपाल सरकारले गर्ने बताएका छन् । मुक्त कमैया समाज र कमैया महिला जागरण मञ्च दाङको आयोजनामा लमहीको सार्वजनिक बगैचामा बिहीबार मनाइएको २० अाैँ मुक्ति दिवस कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य चाैधरीले अन्य बाँकी काम २ वर्ष भित्र पुरा गर्ने बताए । त्यस्तै अार्का प्रतिनिधि सभा सदस्य गंगा थारूले कमैया,सुकुम्बासीहरूको समस्या समाधान कम्युनिस्टको सरकारले गर्ने बताइन् । त्यस्तै प्रदेश सभा सदस्य इन्द्रजित थारूले परिचय पत्र प्राप्त गरेका कमैया,सुकुम्बासीहरूको समस्या विस्तारै समाधान हुदै गएको र छुट कमैयाको समस्या समाधानका लागि बहस गर्न जरूरी रहेको बताए ।

त्यस्तै अार्का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रदेश सरकार मार्फत गाँस,बासको व्यवस्था गरी रोजगारीको व्यवस्था गर्न प्रदेश सरकारले ध्यान दिने बताएका छन् । मञ्चका अध्यक्ष हरिचन्द्र चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका बसन्तराज शर्मा,नेपाली कांग्रेसका कर्णबहादुर बुढाथोकी, लमही नगरपालिकाका मेयर कुलबहादुर केसी , भुमि सुधार कार्यालय दाङका कमैया फाँटका कर्मचारी हरिप्रसाद चाैधरी, मुक्त कमैया समाजका केन्द्रीय सदस्य टेकबहादुर रावत,कमैयाहरू दुखराम चाैधरी,मानवीर चाैधरी,सानी चाैधरी,कनैहालाल चाैधरी,प्रेमप्रसाद चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमैया महिला जागरण समाजका जिल्ला सदस्य सुनरूपी चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समाजका जिल्ला सचिव लोकमाया तामाङ गरेका थिए । सरकारले कमैया मुक्ति घोषणा गरेको लामो समयदेखि अर्काको घरमा काम गरेर बस्न बाध्य कमैयाहरुलाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा रहेका कमैयालाई मुक्त भएको घोषणा गरी कमैयाले लिएको ऋण मिनाहा गर्दै कुनै व्यक्तिलाई कमैया श्रमिकको रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काममा लगाउन प्रतिबन्ध लगाएको हो ।

सरकारले मुक्त कमैयाहरुको बसोबासको व्यवस्था मिलाउनुका साथै घर निर्माण खर्च, काठ तथा विभिन्न सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । हाल दाङ जिल्लामा १ हजार ४ सय २६ जना कमैयाहरू छन् भने ३ हजार ६ सय ५ जना कमैयाहरू छुटेका छन् ।

प्रकाशित मिति : २०७६ साउन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *