दाङ, माघ ५ । प्रतिनिधिसभाको चुनाव लड्न लुम्बिनी प्रदेशका दुई जना प्रदेशसभा सदस्यले पदवाट राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार दाङको क्षेत्र नं. ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य धनबहादुर मास्की (राजेश) र बर्दियाको निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित धर्मबहादुर चौधरीले आइतबार नै राजीनामा प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएका थिए ।
प्रदेशसभा सचिव पुनका अनुसार दुबै जनाको राजीनामा सोमबार सनाखत गरि बेलुकासम्म त्यो स्वीकृत गर्ने कार्य पुरा हुने बताए । सोमबार बेलुका नै राजीनामा दिएका दुई जना प्रदेशसभा सदस्य नरहेको सार्वजनिक सूचना टाँस गरिने उनले बताए ।
फागनु २१ गते हुने निर्वाचन लड्नका लागि राजीनामा बुझाएकाहरुको राजीनामा स्वीकृत भएपछि उनीहरुले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनामा मतदान गर्न पाउने छैनन् ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा मास्की तत्कालिन नेकपा (माओबादी केन्द्र) को तर्फबाट निर्वाचित भएका थिए भने चौधरी तत्कालिन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए । मास्की र चौधरी दुबै जना मन्त्री भएका थिए ।
मस्की लुम्बिनीका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन भने चौधरी पूर्व भौतिक पूर्वाधार मन्त्री हुन ।
प्रदेशसभा सदस्य बाट राजीनामा दिएका मध्य मास्कीलाई नेपाली कम्युनिष्ट पार्टीले दाङको क्षेत्र नं. ३ मा उम्मेदवार बनाएको छ भने चौधरीलाई उज्यालो नेपाल पार्टीले बर्दिया क्षेत्र नं. २ को उम्मेदवार बनाएको छ ।
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति त्यागेर पछिल्लो समय चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा पार्टी प्रबेश गरेका थिए ।
गत निर्वाचनमा नेपाली काँग्रेस, तत्कालिन नेकपा (माओबादी केन्द्र), नेकपा (एकीकृत समाजबादी) लगाएतको चुनावी तालमेल भएको थियो ।
तत्कालिन माओवादीका उम्मेदवार मास्कीले नेकपा एमालेका तत्कालिन जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत पराजित गरेका थिए ।
मास्कीले २२ हजार तीन सय २१ मत प्राप्त गर्दा एमालेका बस्नेतले २० हजार एक सय ५८ मत प्राप्त गरेका थिए ।
उनीहरुको बीचको मतान्तर दुई हजार एक सय ६३ थियो ।
चौधरीले भने बदिंया २ (२) मा काँग्रेस – माओबादी गठबन्धनलाई पराजित गरेका थिए । तत्कालिन नागरिक उन्मुक्तिबाट चुनाव लडेका चौधरीले नेकपा माओबादीका मानबहादुर थारुलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
चौधरीले २० हजार एक सय २७ मत प्राप्त गरेका थिए भने थारुले १० हजार नौ सय ८४ मत प्राप्त गरेका थिए । चौधरी र थारु बीचको मतान्तर नौं हजार एक सय ४३ थियो ।
त्यस्तै सोमबार लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियालेपनि आफ्नो सामाजिक संजाल मार्फत राजीनामा घोषणा गरेका छन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले आधिकारिक रुपमा बनियाले प्रदेशसभा सचिवालयमा राजीनामा नबुझाएको हुँदा फेस बुकमा लेखेको आधारमा भन्न नमिल्ने बताए ।
२०७९ मंसिरको निर्वाचनमा उनी रुपन्देही क्षेत्र नं. ४ (१) बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भएका थिए । पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पार्टी प्रबेश गरेका छन् ।
रास्वपा बाटै उनी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने भएका छन् ।