
दाङ, असार ३१ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको विलियम अग्रेजी विद्यालयले आज मंगलवार रामपुरमा बृक्षरोपण गरेका छन । गरुपूर्णिमाको अवसर पारेर दुवै विद्यालयले रामपुरका तीन स्थानमा बिरुवा रोपेका हुन ।
घोराही—१५ भरतपुरमा रहेको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय र सोही विद्यालयको ब्यवस्थापनमा यो बर्षदेखि सञ्चालनमा रहेको घोराही—२ रामपुरमा रहेको विलियम अग्रेजी विद्यालयले सम्युक्त रुपमा फरकफरक तीन स्थानमा तीन सय बिरुवा रोपेको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।
विद्यालयको बार्षिक कार्यक्रम अनुसार वातावरण संरक्षणमा योगदान पू¥याउनका लागि बृक्षरोपण गरिएको प्रवन्ध निर्देशक शर्माको भनाई छ । शर्माका अनुसार बिरुवा लगाउने तर ती बिरुवाको संरक्षणमा चासो नदिने प्रबृत्तिको अन्त्य गर्दै विद्यालयले एक विद्यार्थी एक बिरुवाको नीति अनुसार रोपिएका बिरुवाको पूर्ण संरक्षण हुने गरी बृक्षरोपण गरिएको हो ।

दुवै विद्यालयले सम्युक्त रुपमा घोराही—२ रामपुरमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले उपभोग गर्दै आइरहेको तारजाली सहित संरक्षणमा रहेको खाली जग्गा, विलियम अग्रेजी विद्यालयको खाली जग्गा र रामपुरको भट्टेटारमा रहेको शिवशक्ति सामुदायिक वन समूहको खाली जग्गामा बिरुवा लगाइएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए ।
दुवै विद्यालयका ६ देखि १० कक्षासम्म अध्ययन गर्ने प्रत्येक विद्यार्थीले एक एक वटा बिरुवा लगाएको र ती विरुवामा विद्यार्थीहरुको नाम सहितको ट्राकिङ गरिने, कुनै कारणबस बिरुवा मरेमा पुनः अर्को बिरुवा सोहि स्थानमा लगाइने र आफूले लगाएको बिरुवाप्रति अपनत्व बोध गराइ विद्यार्थीलाई जिम्वेवार बनाइने गरी योजना बनाइएका कारण बिरुवाको संरक्षण हुने प्रवन्ध निर्देशक शर्माले बताए । बृक्षरोपण गरिएको क्षेत्र तारजाली गरिएका कारण सजिलरी हुर्कने उनको भनाई छ ।
बृक्षरोपणका लागि डिभिजन वन कार्यालय दाङले विद्यालयलाई निशुल्क रुपमा तीन सय बिरुवा उपलब्ध गराएको थियो । बृक्षरोपण कार्यक्रममा दुवै विद्यालयका सञ्चालक समितिका पदाधिकारी, ब्यवस्थापन समितिका पदाधिकारी, विद्यालय प्रशासक, शिक्षक, विद्यार्थी, अभिभावक, सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका पदाधकारी र उपभोक्ताहरुको सहभागिता रहेको थियो । श्रीखण्ड, कपुर, अमला, निम, बकाइनो, टिक, अशोक लगायतका प्रजातिका बिरुवा रोपिएको ज्योतीपुञ्ज आवासीय माध्यमिक विद्यालयले जनाएको छ ।
पूर्ण वालमैत्री वातावरण, मल्टिमिडियाको प्रयोग गरी पढाई हुने,मासिक रुपमा परीक्षा सञ्चालन हुने, प्रभावकारी रुपमा अतिरिक्त क्रियाकपाल सञ्चालन हुने भएका कारण चर्चामा रहेका दुवै विद्यालयले बिभिन्न सामाजिक अभियानमा समेत आफूलाई सरिक गराउदै आएका छन ।
