तुलसीपुर , कात्तिक २४ । बालुवा गिट्टी चोरी निकासी गर्ने आठ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
कात्तिक १९ देखि २४ गतेको बीचमा बबई गाउँपालिका र गढवा गाउँपालिकाबाट प्रहरीले आठ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । ती ट्रयाक्टरलाई कारबाही गर्दा एक लाख ३० हजार राजश्व संकलन भएको छ ।
सोमबार बबई गाउँपालिका – ७ ओदाले बाट अबैध रुपमा ढुँगा र वालुबा उत्खनन् भइ रहेको समयमा इलाका प्रहरी कार्यालय खिलतपुरले ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीको गस्ति टोलीले रा १ त२५५९ र लु २ त ९५७२ नम्बरका ट्याक्टरहरु नियन्त्रणमा लिएको थियो ।
त्यस्तै बबई – ७ बेलासपुरमा बालुवा गिट्टी उत्खनन् गर्दै गरेको अवस्थामा रा १ त ४८४० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।
कारबाही गर्दा प्रति ट्रयाक्टर दश हजारका दरले आर्थिक जरिवाना गर्दा गाउँपालिकामा ३० हजार राजश्व दाखिला भएको थियो ।
त्यसअघि कात्तिक १९ गते बबई गाउँपालिका – ४ स्थित राजी खहरे खोलाबाट अवैध रुपमा ढुँगा उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय खिलतपुरले एउटा अनटेष्ट ट्रयाक्टर नियन्त्रणमा लिएको थियो ।
सोही दिन इलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ नम्बर र रा १ त ४४८३ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
ती तीन ट्रयाक्टरलाई कारबाही गर्दा प्रति ट्रयाक्टर दश हजारका दरले ३० हजार रुपैंयाँ बबई गाउँपालिमा जम्मा भएको थियो ।
त्यस्तै आइतबार गढवा गाउँपालिका – ४ पर्सियास्थित राप्ती खोलाबाट अबैध रुपमा खोला जन्य बस्तु उत्खनन् गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गढवाले रा १ त ३२०१ र रा १ त २७९७ नम्बरका ट्रयाक्टरहरु नियन्त्रणमा लिएको थियो ।
प्रति ट्याक्टरलाई ३० हजार रुपैयाँका दरले आर्थिक जरिवाना गर्दा ६० हजार रुपैंयाँ गढवा गाउँपालिकामा जम्मा भएको थियो ।
