तुलसीपुर , कात्तिक २४ । मंसिर ८ गते लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउने गरि सिफारिस गरिएको छ ।
सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मंसिर ८ गते हिउँदे अधिवेशन बोलाउने बारे प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो ।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सभाको यो सातौं हिउँदे अधिवेशन अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीको सेवा–सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन ।
त्यस्तै दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी रहेको छ ।
सो दिन विभिन्न समितिका प्रतिवेदन र महालेखा परीक्षकको प्रतिवेदन पनि छलफलका लागि प्रस्तुत हुनेछ ।
