
देउखुरी, असोज २ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिला सुस्ती नगर्न मातहतलाई निर्देशन दिएका छन् ।
विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहीवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय देउखुरीमा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताएका थिए ।
‘पुरानो अवस्थामा अघि बढ्न खोज्यौं भने नयाँ पुस्ताले त्यो कुरा स्वीकार गर्ने अवस्था छैन । सेवा प्रवाह सुधार गर्न जरुरी छ ,’ उनले भने ‘कम्तीमा पनि सेवाहरू जनमुखी बनाएर प्रभावकारी ढंगले अगाडि बढाउन जरुरी छ ।’
काम नगर्ने र फाइल थन्क्याउने प्रवृत्तिको समूल नष्ट गर्न आवश्यक रहेको उनले जोड दिए ।
राजनीतिक व्यक्तिहरूले आफूलाई आमूल परिवर्तन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गतेको आन्दोलनका कारण कार्यालयहरू जलेर रोकिएको सेवा प्रवाह तत्काल सुचारू गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशनपनि दिए ।
आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालय र निकायमा भएको भौतिक क्षतिको जानकारी दिँदै उनले मर्मत –सम्भार गरेर कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याइने बताए ।