दाङ, भदौ २६ । दाङमा स्थानीय प्रशासनले शुक्रबार बेलुकी ५ बजेदेखि शनिबार बिहान ५ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।
शुक्रबार बिहादेखि दिउँसो १ बजेसम्म निषेध आज्ञा जारी गरिएको थियो । त्यो बीचमा मानिसहरु बजारमा किनमेल गर्न निस्किएका थिए । पेट्रोल पम्पहरुमा सवारी सधानमा तेल हाल्नेहरुको भिड देखिन्थ्यो ।
जेन्जीको पर्दशनका नाममा उग्र बन्दै सरकारी कार्यालयका साथै राजनीतिक दलका पार्टी कार्यालय, अदालत, नेताका घरहरुमा तोड फोड तथा आगजनी भएपछि स्थानीय प्रशासनले भदौ २४ गते बेलुकी साढे ४ बजेदेखि जिल्लामा कफ्र्यू आदेश जारी गर्दै आएको छ ।
कफ्र्यू आदेश जिल्लाका बिभिन्न चार पालिकामा त्यस्तो जारी गरिएको छ ।
तुलसीपुरमा पूर्वमा हात्ती खौवा चोक, पश्चिममा दुधेनाको कृष्ण मन्दिर, उत्तरमा रक्षाचौरस्थित राप्ती आँखा अस्पताल र दक्षिणमा टरिगाउँ एयरपोर्ट कफ्र्यू आदेश लागु गरिएको छ ।
त्यस्तै घोराहीमा पश्चिममा झिगौंरा चोक, दक्षिणमा प्रहरी बोर्डिङदेखि गोरखा बोर्डिङ स्कूल नजिकको कटुवा खोला पुल, पूर्वमा मितेर हस्पिटलदेखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेखाली ढोरेनी स्कुलदेखि सेवार खोलासम्म कफ्र्यु आदेश जारी रहने छ ।
त्यस्तै लमहीमा पूर्वमा अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलहीसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।
त्यस्तै राप्ती गाउँपालिकामा प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको क्षेत्र र भालुवाङ बजार क्षेत्र भित्र, पश्चिममा गोपी नाला र पूर्वमा भालुवाङ पुलसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।
स्थानीय प्रशासनले तोकिएको अबधिसम्म आवात जावात गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, पर्दशन, सभा, बैठक, घेरा गर्न नपाइने चेतावनी दिइएको छ ।
