
तुलसीपुर, असार २६ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्यमशिल काम गर्न खोज्ने युवालाई विना व्याज लगानी गर्ने वताएका छन् । युवाहरु रोजगार खोज्नमा भन्दा पनि रोजगार सृजना गर्नमा अग्रसर हुनुपर्ने कुरामा उनले जोड दिए । ‘हामीले जागिर खाने होइन सृजना गर्नुपर्दछ’ उनले भने । तुलसीपुरले विकास प्राधिकरण मार्फत ३ करोड रकम उद्यमशिलतामा खर्चन लागेको उनको भनाई थियो ।
उद्यमशिलताको काम अगाडि वढाउनका लागि पैसा मात्रै सवथोक नभएको वताउँदै नगरप्रमुख पाण्डेले आँट, साहस र मेहनतले उद्यमशिलताको विकास हुने कुरामा जोड दिए । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले आयोजना गरेको उद्यमशिलता तालिमको समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथि पाण्डेले तालिम लिएर रमाउँने भन्दा पनि त्यसलाई व्यवहारमा लागु गर्न ध्यान दिनुपर्ने वताए ।
कार्यक्रममा वोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले उद्यमशिलताले मात्रै देशलाई विकास र समृद्धिको यात्रामा अगाडि वढाउन सम्भव हुने वताए । युवाहरु अलमलमा भन्दा पनि लक्ष्य निर्धारण गरेर अगाडि वढ्नुपर्ने उनको भनाई थियो । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्रीले काममा आधारमा उद्यमशिलताको विकास हुने कुरामा जोडल दिए ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष सुरेश रावत,तुलसीपुर गौशाला संरक्षण सहकारीका अध्यक्ष मोहन भण्डारी,उपमहानगरपालिकाका रोजगार संयोजक भागवत घिमिरेले आजका युवाहरुले रोजगारका लागि अरुको मुख ताक्नेभन्दा पनि आफै रोजगारी सृजना गर्न लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका ६५ जना युवाको सहभागिता रहेको तालिममा ७ दिनसम्म उद्यमशिलता सम्वन्धि विभिन्न तालिम दिइएको थियो । समापन कार्यक्रमको सहजिकरण शिक्षा शाखाका अधिकृत चक्रवहादुर खत्रीले गरेका थिए ।