२०८३ जेष्ठ ३१ गते आइतवार

न्यायमा पक्षपात नगरौ : जिल्ला न्यायधिश रावल


तुलसीपुर, असार २६ । दाङ्ग देउखुरी जिल्ला अदालतका न्यायधिश हेमन्त रावलले न्याय सम्पादनमा कुनै पनि खालको पक्षपात नगर्न आग्रह गरेका छन । उनले कानुनको उपचार खोज्नुभन्दा कानुन उल्लंघन गर्ने काम कसरी रोक्ने महत्वपूर्ण भएको वताए । सबैले कानुनको सम्मान गरे समाज सुन्दर हुने वताउँदै न्यायधिश रावलले कानुनको पालना गर्नु र गराउनु सबैको दायित्व भएको वताए ।

तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा वोल्दै न्यायधिस रावलले सरकारको आधिकारीक व्यक्ति भएकाले जनप्रतिनिधिले कानुनको पालना गर्न र गराउनमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । ‘सानो सानो काम गर्दा पनि कानुनका वारेमा संवेदनशिल हुनुपर्दछ’ उनले भने । कानुन वलियोका लागि भन्दा पनि कमजोरका लागि हुनपर्ने वताउँछै न्यायधिश रावलले कानुन र समाजको विचमा सन्तुलन हुनुपर्ने कुरामा जोड दिए ।

‘वालविवाह र वहुविवाह गर्नुहुँदैन भन्ने कानुन छ तर पनि समाजले यो कुरालाई पचाउन सकेको छैन’ उनले भने । उनले वडा वडामा न्यायको निरुपण गर्ने कामको सुरुवात भएको भन्दै जनप्रतिनिधिहरुले आफ्नो भुमिका के हो भन्ने वारेमा जानकारी लिनुपर्ने कुरामा जोड दिए । ‘न्यायिक समितिले सबै काम गर्न मिल्दैन मिल्ने काम मात्रै गर्नुपर्दछ’ उनको भनाई थियो । कुनै मान्छे १२ वर्षसम्म सम्पर्कमा आएन भने त्यो मरेका ठहर्ने वताउँदै रावलले यस्ता धेरै कुराका वारेमा जानकारी राख्नुपर्ने वताए । उनले वसाई सराईलाई कडाइका साथमा लागु गर्न सकिए अपराध घट्ने समेत वताए ।

तुलसीपुर उपमहानगरपालिकाले न्यायिक समितिमा रहेर कामगर्ने वडाका जन प्रतिनिधिहरुलाई प्रशक्षण दिने कार्यक्रमलाई उनले सम्वोधन गरेका हुन् । वडाबाटै न्यायसम्पादनको काम सुरु गर्ने गरी यसको प्रारम्भ गरिएको हो । उपमहानगरपालिकामा चाप वढेका कारण न्याय सम्पादन गर्न सजिलो हुने गरी वडा स्तरमा न्याय सम्पादनको काम भइरहेको छ । वडामा रहेका महिला सदस्य र कर्मचारीहरुलाई न्याय सम्पादन प्रक्रियामा सहजताका लागि तालिमको आयोजना गरिएको न्यायिक समिति संयोजक माया शर्माले वताइन । उनले वडास्तरमा न्याय सम्पादन गरेर जनतालाई सहजै न्यायको अनुभत हुने गरी काम अगाडि वढाएको समेत जानकारी दिइन ।

कानुनी मामिला तथा न्यायिक समितिको आयोजनामा भएको २ दिने तालिमको समापन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले जनप्रतिनिधिले न्याय सम्पादन गर्दा विचार र आस्था त्याग्नुपर्ने वताए । ‘जुन दलबाट जितेको भएपनि हाम्रो मिसन जनतालाई न्याय दिने हुनुपर्दछ ‘ उनले भने । सत्य, तथ्यका आधारमा न्याय निरुपण गर्नुपर्ने वताउँदै मेलमिलापकर्तालाई गाउँतह सम्म पुर्याउनका लागि उपमहानगरपालिकाले काम अगाडि वढाएको उनको भनाई थियो । समिति संयोजक माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य जानका रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सुशिला शाहले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *