
तुलसीपुर, साउन ५ । हतियारधारी समुहद्धारा समसाँझै बाटो ढुकेर हत्या गरिएका सञ्चार उद्यमी देविप्रशाद धिताल (हेमराज) हत्या भएको १५ बर्ष पुगेको छ ।
धिताल हत्याको १५ बर्ष बितिसक्दापनि हालसम्म प्रहरीले हत्यारा पत्ता लगाउन र हत्याको कारण स्पष्ट पार्न सकेको छैन ।
हेमराज माथि हतियार धारी समुहले हालको तुलसीपुर उपमहानगरपालिका – १२ जस्पुरको प्रहरी चौकी भन्दा झन्डै पाँच सय मिटर उत्तरमा २०६७ साल साउन ६ गते बेलुकी सवा ७ बजेतिर लखेटी लखेटी गोली प्रहार गरि हत्या गरेका थिए ।
गम्भीर अवस्थाका धिताललाई तत्काल तुलसीपुरस्थित अस्पताल पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा राप्ती राजमार्ग हुँदै तुलसीपुरस्थित घर तर्फ आइ रहेका हेमराजलाई बाटो ढुकेर बसेको हतियार धारी एक समुहले संसाँझै लखेटी लखेटी गोली प्रहार गरि मकै बारी हुँदै फरार भएको प्रत्यक्षदर्सी स्थानीयले बताएका थिए ।
दाङको रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालिन अध्यक्ष हेमराज तत्कालिन समय राप्ती अञ्चल सार्वजनिक बस ब्यबसायी समितिको पनि अध्यक्ष थिए । उनी दर्जन जति बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध थिए ।
तत्कालिन समय नेपाली काँग्रेसको गाविस, नगर अधिवेशन नजिकिदै थियो । पार्टी भित्र आन्तरिक निर्वाचनमा साबिक उरहरी गाविसबाट उम्मेदवारी दिने तयारीमा उनी थिए ।
साबिक उरहरी – ८ बेलगनारका बासिन्दा उनी त्यो दिन उरहरी गाविसका काँग्रेसका नेता कार्यकर्ता संग भेटघाट गरि तुलसीपुरस्थित घर फर्किने क्रममा ढुकेर बसेका हतियार धारी समुहले गोली प्रहार गरि हत्या गरेका थिए ।
धितालको हत्या पछि बर्षेनी स्मृति दिवस मनाउँदै आइएको छ । ‘हेमराज धिताल प्रतिष्ठान’ले दिवस मनाउँदै आएको छ । सोमबार पनि तुलसीपुर – ६ बरुवागाउँस्थित त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको कार्यालय प्राङगणमा स्मृतिमा पुगेकाहरुले धिताललाई स्मरण गरे ।
यातायात प्रालिको प्राङगणमा धितालको हत्या पछि शाकिल स्थापना गरिएको छ । त्यहाँ पुगेका घर परिवारका सदस्य, आफन्त र शुभचिन्तकहरुले धितालको शालिकमा मार्यापन गरेका थिए ।
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्षसमेत रहेका नेपाली काँग्रेस तुलसीपुरका नगरसभापति सुरेश हमाल, पत्रकार तथा मानवअधिकारकर्मी सुशिल बस्नेत, हेमराज धिताल प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गिय धितालका ससुरा वुवा हरिप्रशाद रजौरियाले स्मृतिसभालाई सम्बोधन गर्दै १५ बर्षसम्म पनि हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले नसक्नुले राज्य बिहिनताको महशुस भइ रहेको बताएका थिए ।
हत्याको कारण र हत्यारा पत्ता लगाई हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरि कानुनी कारबाही नगर्दासम्म परिवार मात्र नभइ समाज नै अन्योल र त्रासमा बाँच्नु परेको हूँदा प्रहरीले हत्यारा पहिचान गरि सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।
धिताल प्रतिष्ठानले तुलसीपुरस्थित मानव सेवा आश्रममा पुगेर बिहानको भोजनपनि गराएको थियो ।
शनिबार मात्रै हेमराजका भाइ पुष्कर धितालले आफ्नो तर्फबाट दाजु हेमराजको हत्या भएको १५ बर्षसम्म पनि हत्याराको पहिचार तथा पक्राउ गर्न नसकेको हुँदा परिवार त्रासमा बाँच्नु परेको भन्दै ध्यानाकर्षण पत्र गृहमन्त्री रमेश लेखकलाई बुझाएका थिए ।
गृहमन्त्री लेखकले आँफुले प्रहरी प्रमुखलाई तत्काल धितालको हत्याबारे भइ रहेको अनुसन्धान र प्रगतिबारे बुझ्ने आश्वासन दिएका थिए ।




