शरद रेग्मी
दाङ,असार २३ ।
पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी सुरेश विक्रम शाहले ब्यवसायीहरुको सुरक्षा नेपाल प्रहरीले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा प्रहरी नायव महानिरीक्षक शाहले सुरक्षाविना विकास र समृद्धि सम्भव नहुने बताए । समाजको सुरक्षाको लागि व्यवसायी र आम नागरिकसँग हातेमालो गरेर अगाडि बढ्ने उनले बताए ।
आम ब्यवसायी र नागरिकको सुरक्षामा कुनै कमिकमजोरी हुन नदिने प्रतिवद्धता जाहेर गरेका उनले समयमै सूचना दिएर प्रहरीलाई सघाउन सबैमा आग्रह पनि गरे । वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा यसअघिका अध्यक्ष बिमल रिजाल, संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, सल्लाहकार सुरेश हमाललगायतले समग्र दाङ र तुलसीपुर क्षेत्रको शान्ति सुरक्षाको अवस्थाका बारेमा जानकारी दिएका थिए ।
संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रुपबहादुर खत्रीले गरेका थिए ।