
दाङ, असार २३ ।
दाङ देउखुरी जिल्ला अदालतले सामूहिक बलात्कार काण्डमा दुईजना व्यक्तिलाई जनही १२÷१२ बर्ष कैद फैसला सुनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का २७ बर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ बर्षीय गुरुप्रसाद पुनलाई पाँच वर्ष अगाडिको एउटा बलात्कार काण्डमा दोषी ठहर गर्दै आइतबार अदालतले उक्त सजायको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश हेमन्त रावलको ईजलासले तुलसीपुर ३ कै एक १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२÷१२ बर्ष कैद सजाय तोक्दै दुवैजना पिडकबाट जनही ५०÷ ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । २०७१ साल असार २३ गते थापा र पुनले ती बालिकामाथि सामूहिक बलात्कार गरेको जाहेरी परेको थियो ।
उक्त बलात्कार काण्डपछि फरार रहदै आएका अभियुक्त थापा र पुनलाई प्रहरीले २०७५ पुस १८ गते पक्राउ गरेपछि मुद्दा चलाएको थियो । त्यसमा जिल्ला अदालतले दुबै जनालाई बलात्कार काण्डमा दोषी ठहर गर्दै जनही १२÷१२ बर्ष कैद सजाय र क्षतिपूर्ति बापत जनही ५०÷५० हजार भराउन फैसला सुनाएको हो ।
