दाङ,असार १० । लुम्बिनी प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुका बारेमा भ्रम फैलाईएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ती जारी गर्दै प्रदेश सरकारमा पार्टीका तर्फबाट रहेका मन्त्रीहरुका बारेमा अफवाह फैलाईएको स्पष्ट पारेको हो ।
आइतबार र सोमबार दुइ दिन बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउनु पर्ने भन्दै सांसदहरुले माग राखेको प्रचारबाजी भएको थियो ।
कांगेस संसदीय दलको कायालयले यसको खण्डन गर्दै मन्त्रीहरुलाई फिर्ता बोलाउने विषय दलको बैठकमा नउठेको जनाएको छ । ‘मन्त्रीहरुलाई फिर्ता बोलाउने भन्ने विषयमा कुनै छलफल वा निर्णय भएको हैन,’ कांग्रेस संसदीय दलको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यथार्थ नबुझेर भ्रम सिर्जना गरिनु खेदजनक छ ।’
प्रदेश सरकारले ल्याएका बजेटसंग जोडिएर सरकारमा आएका समस्याहरुको लोकतान्त्रीक विधि र मान्यताबाट सबैको सम्मान हुनेगरि समाधानको पहल कांग्रेसले गरिरहेको पनि जनाईएको छ ।
कांग्रेस प्रमुख सचेतक जमुना ढकालले जारी गरेको विज्ञप्तीमा बैठकमा सांसदहरुले मन्त्रीहरु सग असहमती राख्नु,अपेक्षा राखेको भन्दै यसलाई स्वाभाविक उल्लेख गरिएको छ ।
कांग्रेस संसदीय दलको बैठकमा आफूहरुले सिफारीस गरेका योजनाहरु कटौती भएको भन्दै असन्तुष्टि ब्यक्त भएका थिए ।
तर मन्त्रीहरुलाई नै सरकारबाट फिर्ता बोलाउने छलफल वा निर्णय दलको बैठकमा नभएको ढकालले विज्ञप्तीमा स्पष्ट पारेकी छिन् । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका ५ मन्त्री छन् ।