दाङ,असार ८ । दाङ तुलसीपुर स्थित ज्ञान ज्योति माध्यामिक विद्यालय नेशनल एजुकेसन अवार्ड २०२५ बाट सम्मानित भएको छ ।
यही असाढ ७ गते काठमाडौंमा फाेकस नेपाल संस्थाद्वारा आयोजित शिक्षा क्षेत्र समस्या र समाधानका उपायहरू विषयक विचार गोष्ठी, राष्ट्रिय शिक्षा सम्मान तथा विशेष सांस्कृतिक समारोहमा यस विद्यालयलाई उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, विद्यालयले विभिन्न समयमा ल्याउने गरेको उत्कृष्ट नतिजाको आधारमा ज्ञानज्योति माविलाई उत्कृष्ट स्कुल अफ दि इयर अवार्ड प्रदान गरिएको हो ।
ज्ञानज्योति स्कुलका एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण गरेका थिए । विद्यालय उत्कृष्ट नतिजाकै आधारमा देशमै उत्कृष्ट ७ औ स्थानमा पर्न सफल भएको थियो । अवार्ड कार्यक्रममा देशैभरिका विद्यालयहरूको सहभागिता रहेको थियो ।
विद्यालयले विभिन्न समयमा उत्कृष्ट अवार्डहरू प्राप्त गर्दै आएको छ । पश्चिम नेपालमै उच्च व्यवस्थापनका साथ सञ्चालन भइरहेको विद्यालयले विभिन्न समयमा विभिन्न संकायबाट उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।