दाङ, जेठ १३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले हाल नेपालमा भ्रष्टाचारको तेस्रो लहर चलिरहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सोमबार बेलुकी अवेर सम्बोधन गर्दै महासचिव बिप्लवले अहिलेको एमाले र काँग्रेसको सरकारले भ्रष्टाचार गरेर भ्रष्टचारको ठूलो लहर चर्चामा रहेको बताए ।
‘ हो होइन त्यो छुट्टै कुरा हो,’ उनले भने ‘ तर, सचिवले समेत दिनमा पचास लाख बुझाउँछु भन्न थालेपछि यो देश कहाँ छ भन्ने बहस चिलरहेको छ ।’
त्यस्तै उनले गृहमन्त्री रमेश लेखक बौद्धिक र सोझो ब्यक्ति भएको र आँफुहरु संग भेटमा संधै सकारात्मक कुरा गर्ने गरेको बताए ।
‘ उहाँ मान्छे अलि भद्र र बौद्धिक मान्छे लाग्थ्यो । उहाँले नै ५० लाख रुप्पे खानुहुन्छ भनेर सचिवले भनेपछि, कि त सचिव नै पागल भा हुनुपर्यो होइन भने ठूलै चलखेल भएको कुरा त बाहिर आयो नि, यस्को अनुसन्धान हुनु पर्छ,’ विप्लवले भने ।
भिजिट भिसा प्रकरण गृहमन्त्री रमेश लेखकको मात्रै मुद्दा र विषयभन्दा पनि राज्यका निकायले जनताले तिरेको करलाई लुकाएर कसरी खान्छन र राज्यका मेकानिजम कस्तो छ भन्ने कुराको सानो प्रमाण भएको उनले बताएका थिए ।
तलदेखि माथिसम्म देश भ्रष्टाचारको दलदलमा फसेको भन्दै उनले देशका विभिन्न ठाउँमा हुने गरेका बिकास निर्माणका काममा पनि कमिसन चलिरहेको आशंका ब्यक्त गरे । उनले पोखरा एयरपोर्टमा १० अर्व रुपैयाँसम्म भ्रष्टाचार भएको कुरा सार्वजनिक हुुनुलाई पनि चरम भ्रष्टचारको उदाहरण मान्न सकिने बताए ।
जुन नेताहरू देशको जिम्मा लिन्छौ भनेर माथि पुग्छन् उनै नेताहरुले जनताको पैसा कुम्ल्याउन भ्रष्टचारमा लिप्त हुने गरेको उनको आरोप थियो ।
‘नेताले भ्रष्टचार गरि रहने तर ऋण चाही हामीले बोक्नुपर्ने ? पार्टीको गठजोडबाट हुने जुन अपराध छ, त्यसको भागिदार किन नेपाली जनता हुने,’ विप्लवको प्रश्न थियो ।
फरक प्रशंगमा महासचिव विप्लवले आर्थिक उत्पादन विना देश परिवर्तन र बिकास गर्न संभव नरहेको बताए । त्यसैका लागि नेकपाले आर्थिक उत्पादनमा जोड दिएको उनले बताएका थिए ।
निजी क्षेत्रवाट मिलेर सह लगानीमा आँफुहरुले उत्पादनको काम सुरु गरेको उनको भनाइ थियो ।
महासंघका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव भद्र वलीले गरेका थिए ।