दाङ, वैशाख ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताएका छन् ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई मंगलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको सवलिकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धि मापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रदेश सरकार र स्थानीय सरकारबीच नवप्रवर्तनका क्षेत्रमा साझेदारी कार्यक्रम लागू भएको भन्दै त्यस कार्यक्रमको उपलब्धि मापनमा पनि विशेष ध्यान दिनुपर्ने बताए ।
नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन तथा प्रदेशको समग्र विकास र सन्तुलित योजनालाई कार्यान्वयन गर्न सरकार दृढ भएर अघि बढेको उनले दाबी गरे ।
मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए ।