तुलसीपुर, जेठ १ । बिहीबार लुम्बिनी प्रदेशसभा बस्यो । बिहीवार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको दोस्रो बैठकमा बिभिन्न प्रदेशसभा सदस्यहरुले धारणा राखे । अधिकाँसले गत बर्ष पुरा नभएका काम र आगामी बजेटकै बारेमा केन्द्रित धारणा राखेका थिए ।
प्रदेशसभा सदस्य लोककुमारी विश्वकर्माले कार्यान्वयन योग्य बजेट निर्माण गर्नुपर्ने, बताइन । उनले जातजाति र भूगोलका समस्याहरू पहिचान गरेर नीति तथा कार्यक्रम ल्याउन माग गरिन ।
प्रदेशसभा सदस्य हेमा बेल्वासेले बजेट थोरै छ भनेर त्रास फैलाउने काम नर्ग आग्रह गरिन । उनले क्षेत्र विकास कोषको रकम खर्च हुन नसकेको भन्दै अबका नीति तथा कार्यक्रम जनतामुखी हुनुपर्ने जोड दिइन । रोजगारी सृजना, जनमुखी संवाद जस्ता कुरालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन हुनुपर्ने माग गरिन ।
प्रदेशसभा सदस्य धर्मबहादुर चौधरीले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई बजेटमा प्राथमिकतामा राख्न माग गरे । दिगो विकासको आधार शिक्षा भएकोले प्रदेश गौरवका आयोजनाको रूपमा रहेको प्राबिधिक विश्वविद्यालयमा कम बजेट छुट्याउन नहुने उनको धारणा थियो ।
प्रदेशसभा सदस्य दिपेन्द्रकुमार पुनले टिमुर खेतीलाई प्रवद्र्धन हुने खाले बजेट ल्याउन आग्रह गरे । उनले टिमुरमा राम्रो संभावना रहेको भन्दै त्यसबाट राज्यले राजश्व संकलनको आधार निर्माण गर्न सक्ने संभावना देखाए ।
त्यस्तै उनले जनतासँग सरोकार राख्ने कानुन निर्माण गरि त्यसलाई लागू गर्न सक्नुपर्ने बताएका थिए ।
प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने सबैको साझा लक्ष्य रहेको हुँदा सोही अनुरुप बजेट निर्माणमा ध्यान दिनुपर्ने बताएका थिए ।
प्रदेशसभा सदस्य तारा थापाले कृषि र पशुपक्षीको क्षेत्रमा कुल बजेटको ३० प्रतिशत बजेट सुनिश्चित गर्न माग गरिन । सिँचाइ, जग्गाको सुरक्षा, हरियो मल उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन ।
त्यस्तै उनले १५ शैयाका आधारभूत अस्पताल सञ्चालनको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने बताइन ।
प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनी पर्यटनको प्रदेश भएपनि पर्यटन मैत्री व्यवहार नभएको बताए।
लुम्बिनी भ्रमण गर्न आउने पर्यटक नाका क्षेत्रमा बिचौलियाहरूको चलखेलका कारण हैरानी बेहोर्नु परेका कारण त्यो अन्त्यको माग गरे ।
प्रदेशसभा सदस्य शान्ति लोधले भाषण मात्रै गरेर समृद्धि हासिल नहुने भन्दै भाषण कम र काम धेरै गर्न सुझाएकी थिइन । प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले प्रतिगमनकारीहरूले फेरि शिर उठाउन खोजेको भन्दै उपलब्धिहरूको रक्षा नै प्रमुख सवाल भएको बताएका थिए । प्रदेशसभा सदस्य मिनाकुमारी बोहराले जनताले चलाउन सक्ने गरी बजेट बनाउनुपर्ने धारणा राखिन ।
स्वास्थ्यमा लुम्बिनी पछाडि परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन । प्रदेशसभा सदस्य डिल्लीराज भुसालले चालू वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको, योजना किन कार्यान्वयन भएन भनेर समीक्षा गरिनुपर्ने बताए। रातो किताबमा बजेटमा परेपनि कार्यान्वयन हुन नसक्दा जटिलता थपिएको बताएका थिए ।
प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरी, प्रदेशसभा सदस्य भगवती अधिकारी,प्रदेशसभा सदस्य बसन्ती न्यौपाने,प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठ, प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठ, प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने लगाएतले धारणा राखेका थिए ।
त्यसक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयक पेश गरेका थिए ।
प्रदेशसभाको तेस्रो बैठक जेठ २ गते शुक्रबार दिउँसो १ बजे बस्ने छ ।