दाङ, असार १८ । नागरिक समाज दाङले किसानले खेतीका लागि महत्वपूर्ण महिना असार तेस्रो हप्ता वितिसक्दासमेत कृषकहरुले मल पाउन नसको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाजका संयोजक चन्द्रराज पन्त र सचिव लक्ष्मी आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा खेतमा समयदिनुपर्ने बेला किसानहरु मलका लागि बजारमा भौंतारिनुपर्ने अवस्था आएको प्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘खेतीको समयमा रासायनिक मलको आपूर्ति हुन नसक्नुले कृषि क्षेत्र सरकारको प्राथमिकता नपरेको मात्रै देखिएको छैन सरकारको व्यवस्थापकीय कमजोरी समेत देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ । उनीहरुले किसानहरुलाई सहज रुपमा रासायनिक मल, गुणस्तरीय बिउ, सिंचाईलगायतका अत्यावश्यक कुराको व्यवस्था गर्नु राज्यको दायित्व भएको स्मरण गराइएको छ ।
त्यसैगरी विज्ञप्तिमा घोराही उपमहानगरपालिकाबाट घोराहीको मुख्य बजारक्षेत्रमा सडक मर्मत संभार गर्ने क्रममा रिसेलिङ प्रविधिको नाममा स्तरहीन सामग्री प्रयोग गरी सडकलाई नै अस्तव्यस्त पारिएको प्रतिपनि नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ ।व्यापक गुनासो बढिरहेको अवस्थामा पनि त्यसलाई सुधार गर्नतर्फ नलागी एक अर्कोलाई दोषारोपण लगाउने प्रवृत्ति बढेको प्रति नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै उस्ले नागरिक समाजले लमही घोराही हुँदै तुलसीपुरसम्मका निर्माणाधिन सडक पुलहरु निर्माण कार्य समयमै सम्पन्न नगरको प्रतिपनि चासो व्यक्त गरेको छ ।वर्षातको समयमा नदी खोलाहरुमा पानीको वहाव बढ्ने हुँदा बैकल्पिक मार्ग निर्माण गरी आवागमनलाई सहज बनाउनका साथै यथाशक्य छिटो पुल निर्माण कार्यलाई सम्पन्न गर्न सडक डिभिजन कार्यालय घोराही दाङलाई समाजले आग्रह गरेको छ ।