
फोटो क्याप्सन – तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा रहेको दंगिशरण थारु राजाको ऐतिहासिक दरवार रहेको क्षेत्रको अनुगमन गर्दै सभामुख महरा । तस्विर – एकराज बस्नेतको फेसबुकवाट
दाङ,असार १८ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले एैतिहासिक दंगिशरण थारु राजाको दरवारको अनुगमन गरेका छन् । दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका महराले बुधवार तुलसीपुर उपमहानरपालिका वडा नं. ११ सुकौरास्थित प्राचिन थारु राजाको दरवार रहेको क्षेत्रको स्थलगत अनुगमन गरेका हुन । प्रदेश सरकारले सुकौरामा दंगिशरण थारु राजाको प्रतिमा स्थापना गर्ने निर्णय हालसालै गरेको थियो ।
अनुगमनका क्रममा महराले थारु राजाको प्राचिन दरवार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आश्वासन दिएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीका अनुसार संघीय सभामुख महराले सम्क्षिप्त प्रक्रिया दिदै त्यस्तो आश्वासन दिएका हुन ।
प्राचिन थारु राजा दंगिशरण दरवारको अवलोकनमा पुगेका प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी र तुलसीपुरका मेयर घनश्याम पाण्डेले पनि त्यसको विकासमा लाग्नुपर्ने कुरामा जोड दिएका थिए । त्यसक्रममा वडा अध्यक्ष वलीले भने दंगिशरण थारु राजाको दरवार क्षेत्रको विकास र विस्तारको माग गर्दै समाभुख महरालाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा अलपत्र अवस्थामा रहेको संग्राहलय निर्माणको काम पुरा गर्न, बजेट रोकिएपछि निर्माण हुँदा हुँदै अलपत्र अवस्थामा पुगेको भ्यूटावर निर्माण कार्य पुरा गर्न, बेलटाकुरा हुँदै दंगिशरण दरवार हुँदै सिमलकुना जोड्ने सकड खण्ड र दामोदर रोड कालोपत्रे गर्न लगाएतको लागि पहल गर्न मा गरिएको छ ।

महरासंगै अनुगमनमा गएका स्थानीयबासी तथा पूर्व सांसद बुद्धिराम भण्डारीले राज्यले दंगिशरण राजाको दरवारलाई सम्पत्तिको रुपमा ग्रहण गर्नुपर्ने बताए । नेपाली काँग्रेसका नेता समेत रहेका भण्डारीले दंगिशरण थारु राजाको दरवार पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म बसोबास गर्दै आएका सम्पूर्ण थारु जातिहरुको इतिहास र पहिचान भएको हुँदा त्यसको संरक्षणमा राज्य गम्भीर बन्नुपर्ने बताए ।
भ्यूटार निर्माणको काम बीचमै अलपत्र
पूर्व सांसद भण्डारीले विकास कोषवाट निर्माणाधिन भ्यूटावर अलपत्र अवस्थामा पुगेको छ । ४ बर्ष अगाडि भण्डारीले सिलन्यास गर्दा उक्त भ्यूटावर सात तलाको निर्माण गर्ने बताएका थिए । तर फाउन्डेसनसहित २ तलामात्रै निर्माण हुँदै गर्दा काम रोकिएको छ । पूर्व एमालेवाट निर्वाचित सांसद झपड रावलले समायावधि सकिएका सांसद भण्डारीले सांसद विकास कोषको बजेट निकासा गर्न नपाउने भन्ने बेहोराको मुद्दा अदालतमा हालेपछि भ्यूटार निर्माणको कार्य अलपत्र परेको छ ।
सक्राम व्यारेकको पनि अनुगमन
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ सक्राममा रहेको तत्कालिन माओवादी सेनाको ब्यारेकको पनि स्थलगत निरिक्षण गरेका छन् । त्यसक्रममा सभामुख महराले सम्क्षिप्त प्रतिक्रिया दिँदै तत्कालिन जनमुक्ति सेना बसेको शिविरलाई सङ्ग्राहलय बनाउनु राम्रो हुने बताएका थिए ।
महराले जनमुक्ति सेना बसेको सक्राम व्यारेकलाई युद्ध पर्यटन प्रबर्दन गर्ने थलोको रुपमा विकास गर्न राज्य लाग्नु पर्ने धारणा व्यक्त गरेको नेकपाका एक नेता यज्ञबहादुर केसीले जानकारी दिए ।
स्थलगत निरिक्षणका क्रममा गएका तुलसीपुरका मेयर घनश्याम पाण्डेले संक्राम व्यारेकलाई सङ्ग्राहलय निर्माण गर्ने अभियानको सुरुवात भइसकेको जानकारी दिएको नेता केसीले जानकारी दिए । युद्धहरुमा प्रयोग भएका सामाग्रीहरु प्रदर्शनिका लागि राखिने मेयरले बताएका थिए ।