तुलसीपुर , चैत ६ । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको प्यानलले अग्रता कायम राखेको छ ।
पाँच सय मत गणना भइ सक्दा स्ववियु सभापति पदमा नेबिसंघका प्रमोद भण्डारी निकटतम प्रतिष्पर्धी भन्दा ८८ मतले अगाडि पुगेका छन् । बुधबार बिहान ६ बजेतिर सार्वजनिक मत परिनाम अनुसार भण्डारीले २३० मत प्राप्त गरेका छन् ।
त्यस्तै संयुक्त बिद्यार्थी प्यानलको तर्फ बाट स्ववियु सभापति पदका उम्मेदवार लेखमणी खत्री (लक्ष्मण)ले १४२ मत प्राप्त गरेका छन् ।
राप्ती बबईमा स्वतन्त्र रुपमा थप दुई जना सभापति पदमा भिडेका छन् । ५०० मत गणना भइ सक्दा दुई मध्य कृष्ण केसी (डेभिड खत्री) ले १४ र कोमलबहादुर वली (केबी) ले ५४ मत प्राप्त गरेका छन् ।
सचिव पदमा पनि नेपाली काँग्रेसको भातृ संगगठन नेविसंघका उम्मेदवार टोपबहादुर वली नै अगाडि छन् । ५०० मत गन्दा वलीले २०२ मत प्राप्त गरेका छन् । सचिब पदका संयुक्त बिद्यार्थी प्यानलकी उम्मेदवार सोनिया थापाले १९९ र स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले ४५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघका उम्मेदवार शिक्षा नेपालीले २१० मत प्राप्त गर्दा संयुक्त बिद्यार्थी प्यानलका तिलकराज डाँगीले १७१ र स्वतन्त्रका आसिक मियाँले ३६ मत प्राप्त गरेका छन् ।
प्रत्यक्षतर्फको सददस्य पदहरुमा पनि नेविसंघकै उम्मेदवारहरुको अग्रता छ । ५०० मत गणना हुँदा नेविसंघकी मनिषा चौधरीले – २५२, रुपेश चौधरी – २५१, यामकुमारी भण्डारी –२५५, सञ्जिब चौधरी –२३४, ममता वली – २५६, करुणा नेपाली – २५० र लक्ष्मण वलीले – २७६ मत प्राप्त गरेका छन् ।
त्यस्तै संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फ सदस्य पदका उम्मेदवारहरु मध्य नेबबहादुर भण्डारी (नबीन)ले –१८१, कबि सेन सिन – १८४, प्रेम केसी –१७५, दिलिप शर्मा (दीपक) –२०३, अनिता खड्का –१७५ र तुलसीराम भण्डारीले –१८८ मत प्राप्त गरेका छन् ।
स्ववियु सभापति पदका लागि चार जना प्रतिष्पर्धामा छन् ।
नेपाल बिद्यार्थी संघ, संयुक्त बिद्यार्थी युनियन र स्वतन्त्र रुपमा दुई जना प्रतिष्पर्धामा छन् ।
नेविसंघका सभापति पदका उम्मेदवार प्रमोद भण्डारी अघिल्लो स्ववियु निर्वाचनमा पनि सभापति पदका उम्मेदवार थिए । त्यतिखेर पनि गुटगट राजनीतिको परिणाम नेविसंघ कै दुई जना आपसी प्रतिपर्धामा थिए ।
जतिखेर मतदान पुरा भइ मत गणनाका क्रममा उत्पन्न आपसी किचलोका कारण बीचमै मतगणा स्थगित भएको थियो । पछि, फेरि मत गणना सुरु हुन नसकेपछि त्यो मतदानको परिणाम सार्वजनिक नै हुन सकेको थिएन ।
संयुक्त प्यानलको नेतृत्व गरेका लेखमणि खत्री (लक्ष्मण) पनि नेविसंघ कै नेता हुन । टिकट नपाएपछि असन्तुष्ट बनेका उनले आँफु नेतृत्वमा बिभिन्न विद्यार्थी संगठनलाई समेटर संयुक्त प्यानल खडा गरि उम्मेदवारी दिएका थिए ।
संगठनका बिरुद्ध उत्रिएको भन्दै नेपाली काँग्रेस जिल्ला अनुसाशन समितिले मंगलबारदेखि नै लागु हुने गरि खत्रीलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको छ ।
मंगलबार बिज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस दाङका उपसभापति तथा अनुसाशन समितिका संयोजक गिरिराज सुवेदीले खत्रीलाई साधारण सदस्यसमेत नरहने गरि निस्कासित गरिएको उल्लेख गरेका छन् ।
जिल्लाको दोस्रो ठूलो क्याम्पस तुलसीपुरको राप्ती बबइ क्याम्पसमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भएको थियो ।
निर्वाचन समितिका सूचना अधिकारी प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्यनरत ३३१४ बिद्यार्थी मध्य जम्मा १४१७ जना मात्रै मतदानमा सहभागी भए ।
१८९७ बिद्यार्थी मतदान गर्न आएनन् । खसेको मत साढे ४१ प्रतिसत मात्रै हो ।