तुलसीपुर , फागुन २० । आगामी चैत ५ गते हुन गइ रहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा भाग लिने उदेश्यले तुलसीपुर र घोराहीमा बिभिन्न विद्यार्थी संगठनले आफ्नो संगठन दर्ता गराएका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा चैत्रको ५ गते स्ववियुको निर्वाचन हुने कार्यतालिका अनुसार तुलसीपुरको राप्ती बबई क्याम्पसमा आठ र घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा नौं बिद्यार्थी संगठनले आफ्नो संगठन सोमबार दर्ता गराएका हुन ।
तुलसीपुरको बबई क्याम्पसमा सुरुमै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सुरुमै आफ्नो संगठन दर्ता गराएको थियो । त्यसपछि क्रमश ः नेकपा (एकीकृत समाजबादी) निकटको अनेराश्ववियु , नेकपा एमाले निकटको अनेराश्ववियु, नेकपा माओबादी केन्द्र निकटको अखिल (क्रान्तिकारी) ले संगठन दर्ता गरेका थिए ।
त्यसपछि क्रमश ः अखिल (क्रान्तिकारी) बहुमत, अखिल (छैठौं), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र अनेराश्ववियु (कान्तिकारी)ले आफ्नो संगठन दर्ता गरेका थिए । बबई क्याम्पसमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजे भित्रै संगठन दर्ताको लागि निर्वाचन अधिकृत दीपक पौडेलले आह्वान गरेका थिए ।
त्यस्तै घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र नौ विद्यार्थी संगठन दर्ता गराएका छन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं), अखिल (क्रान्तिकारी) बहुमत र स्वतन्त्र विद्यार्थी समुह दर्ता भएको निर्वाचन समिति सदस्य डा सुदीप गौतमले जानकारी दिए ।
घोराहीमा भने सोमवार दिउँसो १२ बजेदेखि ३ बजेसम्मको समय छुट्याइएको थियो ।
स्ववियु निर्वाचनका लागि फागुनको २७ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । दाङ चैत ५ गते त्रिभुवन विश्वविद्यालयबाट सम्वन्ध प्राप्त २५ क्याम्पसमा स्ववियु निर्वाचन हुने छ ।
त्यसका लागि विभिन्न संगठन भित्र लोकप्रिय ब्यक्ति चुन्ने कसरत भइ रहेको छ ।