दाङ, फागुन १८ । तुलसीपुरमा संचालित दोस्रो तुलसीपुर महोत्सवको आइतबार समापन गरिएको छ । फागुन १ गतेदेखि संचालन भएको महोत्सवको आइतबारको समापन गरिएको हो ।
महोत्सवको समापन अवसरमा सरोकारवालाले मेला महोत्सवले स्थानीय उत्पादको बजारीकरण र कला संस्कृतिको संरक्षण गर्ने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले तुलसीपुर महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
उहाँले आगामी मेला महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सुझाव समेत दिए ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ले स्थानीय उत्पादनका स्टल ५० प्रतिशतभन्दा बढी भएमा महोत्सवको महत्व अझ बढ्ने बताए । उनले आगामी दिनमा आयातित वस्तुभन्दा स्थानीय कृषिजन्यवस्तुले स्थान पाउनुपर्ने बताए ।
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षकत्वमा महोत्सव संचालन गरिएको हो ।
‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने भनिएपनि दुई थप संचालन भएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सव अवधिभर दर्शकले दिएको साथको प्रशंसा गरे। उनले महोत्सव सौभार्दपूर्ण वातावरणमा समापन गर्न पाउन निकै हर्षित भएको बताए। उनले महोत्सव संचालनका आयव्यय छिटै सार्वजनिक गरिने बताए ।
महोत्सवमा शनिबारसम्म स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारको प्रस्तुति, विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता भएका थिए ।
आइतबार महोत्सव सकिएपनि महोत्सवस्थलमा किनमेल गर्नेको संख्या अत्याधिक देखिएको छ ।
