सुर्यप्रकाश बुढा मगर, रोल्पा फागुन ११ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार आगामी चुनावसम्म जान बताएका छन् ।
नेपाली कांग्रेस रोल्पाको दोस्रो सम्मेलन तथा बृहत आमसभालाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेको अहिलेको गठबन्धन सरकार आगामी चुनावसम्म चल्ने बताएका हुन ।
कांग्रेस पार्टी भित्र कोही सानो कोही ठूलो नभएको बताए । महामन्त्री थापाले पार्टी भित्र वडादेखि केन्द्रीय सभापति सबै क्रियासिल सदस्य भएको हुँदा जिम्मेवारी बराबर रहने तर्क गरे ।
‘नेपाली कांग्रेस पार्टी यस्तो पार्टी हो,जहाँ म ठूलो त सानो भन्ने भावना राख्दैन,’ उनले भने । नेपाली कांग्रेसले २००७ सालमा बिमान अपहरण गरेको र कसैलाई हिंसा नगरेको भन्दै कांग्रेसले हिंसा पनि नचाहने बताए ।
उनले कांग्रेसकै नेतृत्वमा ठूल्ठूला परिवर्तन सम्भव भएको बताएका थिए । अहिले नेपाली कांग्रेसले तीन सय ३० स्थानीय तह जितेको र दुई हजार ६ सय भन्दा बढी वडाको नेतृत्व गरेको बताए । त्यस्तै उनले तीन वटा प्रदेशको मुख्यमन्त्रीको नेतृत्व गरेको काँग्रेसले गरि रहेको बताएका थिए ।
कांग्रेस भित्र चित्त नबुझेको कुरा सबैले राख्न पाउने हुँदा सानोले बोल्नु हुँदैन र ठूलो मात्र बोल्नुपर्छ भन्ने मान्यता नराख्ने पार्टी भएको थापाले बताएका थिए ।
प्रदेश खारेज गर्नुपर्छ भन्ने हल्ला चलेको भन्दै उनले संघीय सरकारको मन्त्रालय संख्या घटाउनुपर्ने तर्क गरे । प्रदेश खारेज भएमा रोल्पा जस्तो जिल्लालाई असर पर्ने महामन्त्री थापाको तर्क थियो ।
नेकपा माओवादी केन्द्र १७ हजारको बलिदानबाट अगाडि बढेको हुँदा त्यो युद्ध नभई हिंसात्मक आन्दोलन भएको उनले आरोप लगाए । बृहत आमसभाको उपस्थितिले नेपाली कांग्रेस रोल्पालाई उत्साहित गरेको उनको भनाई थियो ।

