
संगम देवकोटा
रुकुम (पूर्व), असार ।
रुकुम पूर्वको भूमे गाउँपालिकाले सरसफाइ अनुगमन गरेको छ । भुमे गाउँपालिकाका अध्यक्ष तथा पालिकास्तरीय सरसफाइ संयोजक रामसुर बुढाको नेतृत्वमा भएको अनुगमन गरिएको छ ।
उपाध्यक्ष मन कुमारी बुढा विष्ट, प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिङ श्रेष्ठ, रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नर बहादुर नेपाली, सचिव केशन कुमार क्षेत्रीयाल, कोषाध्यक्ष रमा गौतम, सदस्य खिमसरा पुन वडा नम्वर ३ का वडा अध्यक्ष दिलमान रोका, सदस्य हिराकुमारी राणा, लिला प्रसाद सुनार, सुआहाराका कार्यक्रमका वास अधिकृत विकास बन्जारा, रुकुमेली समाज विकास केन्द्र रुकुमका कार्यकारी निर्देशक नरेन्द्र केसी खानेपानी तथा सरसफाइ कार्यक्रमका वास अधिकृत संगम देवकोटा, महिला स्वयम्सेविका, महिला समूह सहकारी अध्यक्षलगायतको टोलीले खानेपानी तथा सरसफाइकोे अनुगमन गरेको हो ।
भूमे गाउँपालिकाको हरियाली सफा स्वच्छ भूमे भन्ने मुल नाराका साथ भूमे गाउँपालिकाको मोरावाङ र सीमा टोललाई पूर्ण सरसफाइ सुधारोउन्मुख टोल घोषणा गर्ने अन्तिम तयारीमा पुगेपछि उक्त टोलहरुलाई अनुगमन गरिएको हो । अनुगमनमा, भाडा सुकाउने चाङ, भाडा माझ्ने जुठ्याल्लो, पानी शुद्धिकरण, बालबालिकामा भएको पोषण तथा कुपोषणको पनि अनुगमन गरिएको थियो ।
सरसफाइ अनुगमन पछि समीक्षा कार्यक्रममा बोल्दै भूमे गाउँपालिका अध्यक्ष तथा सरसफाइ समितिका संयोजकले हरेक मान्छेले आनीबानी परिवर्तन नभएसम्म सरसफाइलाई दिगो बनाउन नसकिने र सरसफाइमा सबै लाग्नु पर्ने बताए । त्यस्तै रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नर बहादुर नेपालीले अनुगमन समीक्षा कार्यक्रममा बोल्दै सरसफाइलाई निरन्तर दियो भने मात्रै दीर्घकालिन जीवन जिउन सकिन्छ भन्ने कुराको जिकिर गरे ।
हरियाली सफा स्वच्छ भूमे भयो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेसमेत उनले बताए । नेपाल सरकारले सन् २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने र सन् २०३० सम्म नेपाललाई नै पूर्ण सरसफाइयुक्त घोषणा गर्ने लक्ष्य अनुरुप रुकुम पूर्व भूमे गाउँपालिकाको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको प्राविधिक सहयोगमा खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन भएको छ । अनुगमन समीक्षा कार्यक्रमको वडा नम्वर ३ का वडा अध्यक्ष तथा वडा स्तरीय सरसफाइ संयोजक दिलमान रोकाको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सहजकर्ता रञ्जना विकले गरेकी थिइन् ।
