तुलसीपुर, माघ १० । बिहीबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को वडा कार्यालयमा आएका ८१ वर्षीय नन्दराम रोका निकै खुसी थिए ।
कारण उनलाई वडा कार्यालयले जाडोका लागि न्यानो कपडा उपहार दिएको थियो । ऊनी टोपी,ऊनी स्वीटर वडा कार्यालयले उनलाई दिएको थियो । यो वडा कार्यालयले स्थानीय जेष्ठ नागरिकलाई न्यानो कपडा र मह वितरण गर्न थालेको कुरा थाहाँ पाएपछि रोका वडा कार्यालय आएका थिए ।
रोकाले देखाउँदै भने – ‘वडाले हामीलाई सम्झियो । यी जाडोमा लगाउने ऊनीको टोपी र ऊनी कै स्वीटर दियो ।’
रोका मात्रै होइन वडा कार्यालयले वडाभित्र बसोबार गर्ने ८० वर्ष उमेर पुगेका ६० जना जेष्ठ नागरिकलाई ऊनीको टोपी,ऊनीको स्वीटर र बर्कौ उपहारसहित प्रदान गरेको कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए ।
वडा कार्यालयले प्रत्येक वर्ष जाडोयाममा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै आएको छ । न्यानो कपडा वितरण गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जेष्ठ नागरिकले समाजमा पु¥याएको सामाजिक योगदानस्वरुप सरकारले आफ्नो दायित्व निभाउनु सकारात्मक कुरा भएको बताए ।
त्यस्तै उनले जेष्ठ नागरिक जीवनका भोगाई सुन्ने सुनाउने अनुभव केन्द्र,दिवा केन्द्र र मनोरञ्जस्थल टोल टोलमा बनाउन स्थानीय सरकारलाई आग्रह गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा जेष्ठ नागरिकलाई मह वितरण सुरु गर्न थालेको छ ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गत वर्ष १९ वटै वडामा जाडोयाममा न्यानो कपडा वितरण गरिएको र यस वर्ष नयाँ कार्यक्रमस्वरुप मह वितरण गर्न थालिएको जानकारी दिएका छन् । ६० वर्ष उमेर पुगेका विपन्न समुदायका जेष्ठ नागरिकलाई मह वितरण गरिने उनले बताए ।