
ध्रुव राज न्यौपाने,
तुलसीपुर, असार ८ । गुरु जजुर नमुना मावि तुलसीपुर ४ रक्षाचौरमा आज एक कार्यक्रमका विच विद्यालयका निर्वतमान प्र.अ. विष्णु प्रसाद आचार्यको औपचारिक रुपमा विदाई गरिएको छ । विद्यालयका पूर्व शिक्षक किर्ती बहादुर खड्को प्रमुख आतिथ्यता तथा समाजसेवि सुरेन्द्र बहादुर खड्काको विशिष्ठ आतिथ्यतामा भएको विदाई कार्यक्रममा विगत १८ वर्ष देखि अनवरत रुपमा खटि विद्यालयको गरिमालाई बढाउन महत्वपूर्ण कार्य गरेका आचार्यलाई अनिवार्य अवकासका कारण विद्यालय परीवारले विदाई गरेको हो ।
विदाई कार्यक्रममा वोल्दै पूर्व शिक्षक किर्ती बहादुर खड्काले पहिला विद्यालयको शैक्षिक,आर्थिक,भौतिक लगायत सबै पक्षको अवस्था अत्यन्तै नाजुक रहेको र विद्यालयमा आचार्यको प्रवेश पश्चात विद्यालयले काचुली फेरेको कुरा स्मरण गरे । उनले गुरु जजुरलाई नजिक देखि बुझेको भन्दै आचार्यको अतुलनिय योगदानका कारण आज विद्यालयमा करिव दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको र विद्यालय देशकै एउटा नमुना विद्यालयको रुपमा परिचित भएको बताए । साथै कार्यक्रमका विशिष्ठ अतिथी सुरेन्द्र खड्काले विद्यालयले कठिन अवस्था पार गर्दै यहाँ सम्म आएकोमा खुसी व्यक्त गरे । उनले वि.सं.२०५९ साल तिर आफु वि.व्य.संको अध्यक्षमा निर्वाचित हुदा विद्यालयको परिस्थती कमजोर भएको बताए । उनले उक्त परीरिस्थतीलाई सुधार्न आफु लगायत वि.व्य.सका सम्पूर्ण पदाधिकारी लगायत विष्णु प्रसाद आचार्यको पहलमा थुप्रै समस्याहरुको समाधान गर्दै सक्रिय रुपमा विद्यालयको गुणस्तर अभिवृद्धिका लागि कार्य गरेको स्मरण गरे ।
विद्यालयको त्यो अवस्था देखि यो अवस्थासम्म आएको देख्दा आफु निकै खुसी हुने गरेको बताए । शिक्षक अभिभावक संघ का अध्यक्ष सुरविर वलीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा वोल्दै विदाई भएर जान लाग्नुभएका आचार्यले निकै भावुक भएर विद्यालयको लागि दिनरात पसिना बगाएको भन्दै यो गरिमालाई बचाउन सबै विद्यालय परीवारलाई आग्रह गरे । उनले विद्यालयको सम्पूर्ण विगतका कुरालाई सम्झदै विद्यालयमा पहिला कक्षा ८ उत्तिर्ण गरेको विद्यार्थी कक्षा ९ अध्ययनका लागि अन्य विद्यालयमा जाने परीस्थिती रहेको बताए ।

विद्यालय हाताभित्र पनि विभिन्न खराव कार्यहरु वढि हुने,झैझगडा बढि हुने,रिजल्ट शुल्य आउने,लगायतका नराम्रा गतिविधि भएकाले त्यसवेला विद्यालयमा विद्यार्थी संख्या पनि कम र भएका पनि अन्य विद्यालयमा गएर अध्ययन गर्ने वातावरण रहेको बताए । उनले त्यस्तो खालको परीस्थितीबाट विद्यालय गुज्रिदै वर्तमान अवस्थामा विद्यालयमा सामुदायिक मात्र नभएर निजी विद्यालयबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने वातावरण सिर्जना भएको बताए ।
हाल विद्यार्थी संख्या पनि उत्कृष्ट रहेको,नतिजा पनि उत्कृष्ट रहेको भन्दै विद्यालयको सम्पूर्ण कुरा सुध्रिदै विद्यालय हाल देशकै नमुना विद्यालयको रुपमा परिचित भएको बताए । साथै उनले समुदायले नै गुरु जजुरलाई विश्वास गरिसकेकाले यसले आफ्नो प्रतिष्ठालाई जोगाउन अझै धेरै कार्य गर्नुपर्ने सुझाव पनि दिए ।
कार्यक्रममा विद्यालयका प्र.अ.प्रमोद आचार्य,विव्यसका शिक्षक प्रतिनिधि लेवेन्द्र केसी,शिक्षक सुशिला सुवेदि,ध्रुवराज न्यौपाने,विद्यार्थीको तर्फबाट दिया शर्मा,हिरालाल वली लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा आचार्यलाई सम्पूर्ण शिक्षक, विद्यार्थी, अतिथी,अभिभावक लगायतले खादा,माला,टिका लगाएर सम्मान गरिएको थियो । विद्यालयले विदाई भएर जान लागेका आचार्यलाई उज्वल भविष्यको कामना सहित कदर पत्र,कलश लगायतले सम्मान गरेको थियो । कार्यक्रमको संचालन शिक्षक अभिभावक संघका सदस्य सचिव प्रमोद न्यौपानेले गरेका थिए भने धन्यवाद ज्ञापन विव्यस सदस्य लोकमणि पन्थीले गरेका थिए ।
