तुलसीपुर, पुस २१ । तुलसीपुरको ब्यस्त बजारमा शनिबार दिउँसै घेराहालेर प्रहरीले पक्राउ गरेका नौं जना जुवाडेको नाम आइतबार सार्वजनिक गरेको छ ।
जुवाडे पक्राउ परेको खबर सार्वजनिक गरेकापनि शुक्रबार बेलुका अवेरसम्म प्रहरीले उनीहरुको पहिचान सार्वजनिक गरेको थिएन । पत्रकारले त्यसवारे प्रहरीलाई प्रश्न उठाएका थिए ।
जुवाडे पक्राउ परेको खबर मात्रै हैन, उनीहरुको नामपनि सार्वजनिक गरिनु पर्ने माग सञ्चारकर्मीले गरेका थिए ।
चौतर्फी दबाब पछि प्रहरीले उनीहरुको नाम आइतबार सार्वजनिक गरेको हो ।
तुलसीपुरमा प्रहरीले जुवा खालबाट पक्राउ गरेका मध्य चार जना सहोदर दाजु भाइ रहेको स्रोतले बताएको छ ।
पक्राउ परेका नौं जना मध्य तुलसीपुर उपमहानगरपालिका –५ का ४० बर्षीय ओमकार वली, ४२ बर्षीय लिलाबहादुर वली, ४४ बर्षीय गोरखबहादुर वली र ५६ बर्षीय मिनराज वली सहोदर दाजु भाइ रहेको स्रोतले बताएको छ ।
मिनराज वली राप्ती बबई क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष हुन । नेकपा एमालेका नेतापनि हुन ।
उनका अन्य दाजुभाइ सबै ब्यापारी हुन ।
पक्राउ पर्ने अन्यमा तुलसीपुर – ५ का ३१ बर्षीय नबीन वली, सोही ठाउँका ५५ बर्षीय लालबहादुर गुरुङ, ४४ बर्षीय पूर्णबहादुर डाँगी, चितवनको भरतपुर–२१ का ४३ बर्षीय पुष्पराज घिमिरे र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–८ का ४१ बर्षीय नरविर वली रहेका छ्न ।
शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका –५ (ङ) लाइनस्थित गोरख वलीको सुनचाँदी पसल रहेको घरमा ठूलो रकम हारजित हुने गरि जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई घर घेरा हालेर पक्राउ गरेको थियो । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बिनोद खत्री नेतृत्वको साधा पोशाकको प्रहरीले गोरख वलीको सुनचाँदी पसलमा घेरा हालेर उनीहरुलाई पक्राउ गरेको थियो ।
इप्रकाका सूचना अधिकारी खत्रीका अनुसार जुवा खालवाट नगद दुई लाख ५२ हजार ६५ रुपैयाँ बरामद भएको जानकारी दिएको छ । पक्राउ परेका प्राय सबै ब्यापारी रहेको पनि प्रहरीले बताएको छ । जुवाको खालबाट साथवाट १०२ पत्ता तास र नखोलेको १ गड्डी नयाँ तासपनि बरामद भएको प्रहरीले बताएको छ ।
ब्यस्त बजारमा प्रहरीका दुई वटा भ्यानसहित पुगेर घर घेरा हाल्दा आधा घन्टा बढी समय त्यसक्षेत्रमा यातायात ठप्प प्राय बनेको थियो । मानिसको ठूलो भिड जम्मा भएपछि घर मुली महिलाले त्यसको बिरोध गरेकी थिइन । आफ्नै घर भित्र जुवा खेल्न नपाइने भन्दै उनी कराएकी थिइन ।
बाक्लो भिडभाडका बीच प्रहरी पक्राउ परेका जुवाडेलाई इप्रका पु¥याउन दुई खेप गरेको थियो ।
पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाउने गरि आइतबार घोराहीमा म्याद थपका लागि लैजान लागिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
यो पनि पढ्नुहोस : जुवाडे पक्राउ परे,तर, प्रहरीले नामै सार्वजनिक गरेन