तुलसीपुर, पुस २० । शनिबार दिउँसो पौने चार बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.५ (ङ) लाइनस्थित गौरव वलीको घरमा जुवातास खेलिरहेका नौं जनालाई प्रहरीले पक्राउ गरेको कुरा साँचो हो ।
जुवाडेको साथबाट दुइ लाख ५२ हजार बढी रकमसहित तास एक सय दुई पत्ता, नखोलेको नयाँ तास एक गड्डी र जुवा खेलिरहेका नौ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको कुरापनि साँचो हो । यो तथ्य इलाका प्रहरी कार्यालय तुलसीपुरले शनिबार साँझ अबेर सार्बजनिक गरेको कुरापनि साँचो हो ।
तर, पक्राउ परेको ब्यक्तिहरु को थिए ? भन्ने बारेमा प्रहरीले कसैको नाम सार्वजनिक गरेको छैन । किन ? तुलसीपुर क्षेत्रका गणेमानेका ब्यापारीहरु पक्राउ परेका कारण पुलिसले उनीहरुको नाम सार्वजनिक नगरेको हुन सक्ने धेरैको आशंका छ ।
प्रहरीको सार्वजनिक सूचनामा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीको कमाण्डमा गएको बिशेष प्रहरी टोलीले नौ जनालाई नियन्त्रणमा लिएको कुरा उल्लेख छ ।
तर, पक्राउ परेका ब्यक्तिहरु को हुन ? भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । गणेमानेका ब्यापारी पक्राउ परेका कारण प्रहरीले नाम सार्वजनिक नगरेको स्रोत बताउँछ ।
‘ कि जुवाडे पक्राउ परेको सूचना नदिनु हैन भने पक्राउ परेका ब्यक्तिहरुको नाम सार्वजनिक गर्नु पर्ने कर्तब्य प्रहरीको हो,’ एक पत्रकारले भने ‘ प्रहरीको यो अस्पष्ट सूचना आँफैमा अमिल्दो लागेको छ ।’
ठूला ब्यापारी परेका कारण प्रहरीले उनीहरुको नाम सार्वजनिक नगरको हुन सक्ने उनले आशंका गरे ।