तुलसीपुर, पुस १८ । प्रदेश प्रमुखले फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गरेको छ।
बुधबारको पाँचौं अधिवेसनको दोस्रो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२८ को खण्ड –ख) बमोजिम पुनः सर्वसम्मत पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेको थिए ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देशसहित यसअघि फिर्ता पठाएका थिए।
ती दुवै विधेयक प्रदेश सभाको चौथो अधिवेसनले सर्वसम्मत पास गरेर प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिएको थियो । तर, ती दुवै विधेयक प्रदेश प्रमुख घर्तीले सन्देशसहित असोज २२ गते प्रदेश सभामा फिर्ता पठाएका थिए।
कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन ती बिद्येक जरुरी छन् । लुम्बिनीमा कर्मचारीको पदपुर्ती गर्न बाँकी छ। दरबन्दी अनुसार पदपुर्ती गर्न आवश्यक रहेकाले सभाले विधेयक अघि बढाएको थियो ।
यसअघि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भदौ २७ गते प्रदेशसभाबाट पास भएको थियो।