फरककोण संबाददाता, थवाङ, पुस १६ । बिद्यालयको कम्प्युटर ल्याबको कोठा भर कम्प्यूटर छन् । कम्प्युटरको मोनिटरमा बिद्यार्थीका औंलाहरु खेलेको वा चलेको संकेत थिएन । बरु, विस्तारै धुलोले छोप्दै गरेको देखिन्थ्यो ।
दृष्य आँफै बोल्थ्यो, विद्यार्थीले ती चलाउन नपाएको कयौ दिन बितिसकेको छ । यो कथा, रोल्पाको बिकट मानिने थवाङस्थित बीर बलभद्र माध्यमिक विद्यालयको हो ।
कम्प्युटरको धुलो सफा गर्दै ती सुचारु गर्न दाङ तुलसीपुरको मेट्रो कलेजमा आइटी अध्ययन विद्यार्थीले दुई दिन मेहनत गर्नु प¥यो । आशिष चौधरी र अमित केसीले विद्यालयमै पुगेर दुई दिन खट्नु प¥यो ।
उनीहरुको मेहनतले बन्द अवस्थाका कम्प्यूटर मर्मत पछि फेरि चल्ने बनेका थिए । त्यसपछि बल्ल बीरबलभद्रका विद्यार्थीले फेरि कम्प्युटरका किबोर्डहरुमा आफ्ना औंलाहरु चलाउन थालेको प्रधानाध्यापक कुलबहादुर ओलीले बताए ।
एउटा विद्यालयको आवश्यकतालाई अर्को विद्यालयले पुरा गर्नु पर्छ भन्ने सहयोगी भावना देखेर आँफुहरु खुसी भएको वलीको प्रतिक्रिया थियो ।
‘ यस्तो परम्परा अरु शैक्षिक संस्थाहरुले पनि बसाल्न आवश्यक छ,’ वलीले भने ‘ यस्तै राम्रो कामको सिको सबैतिर हुनु पर्छ ।’
विद्यालयको आर्थिक स्रोत सीमित भएकाले कम्प्युटर मर्मतका लागि समस्या भइ रहेको बेला दाङ तुलसीपुरको मेट्रो कलेजले आफ्नै व्यवस्थापनमा थवाङ आइ बिग्रका कम्प्युटर मर्मत गरिदिदा नियमित ल्याब सञ्चालन गर्न सहज भएको भन्दै प्रअ वलीले खुसी साटे ।
कम्प्यूटर सामान्यरुपमा विग्रिएका भएपनि मर्मत गर्ने जनशक्ति नहुँदा समस्या भोग्नु परेको उनले बताए ।
मर्मत गर्ने जनशक्तिको अभावमा कम्प्युटरहरु थन्किएको सूचना थाहा पाएपछि कलेज मै अध्ययनरत विद्यार्थीसँग सहयोग लिएर मर्मत गरिएको कलेज प्रमुख वसन्त आचार्यले बताले बताए ।
‘रोल्पाको एउटा बिकट भूमी थवाङको बीरबलभद्र माविमा बिग्रेका कारण कम्प्यूटर ल्याव सञ्चालनमा अप्ठेरो परेको सूचना पाएपछि कलेज आफ्नै खर्चमा आइटीको प्रिडिप्लोमा तह अध्ययनरत विद्यार्थी लगेर कम्प्युटर मर्मत गरिदिएको हो,’ आचार्यले भने ‘ यस्ले हाम्रो जनशक्तिको पनि सदुपयोग भयो र अप्ठेरो परेको बिकट भूगोलको बिद्यालयललाई सामान्ने सहयोग पुग्यो ।’
बीरबलभद्र माविलााई आवश्यकता अनुसार उपकरण पनि सहयोग गर्ने कलेज प्रमुख आचार्यले बताए । एउटा विद्यालयलले सानो सहयोग गर्दा अर्को विद्यालयको पठनपाठन मै सहयोग पुग्छ भने सहयोग गर्नुपर्छ भन्ने सहयोगी भावनाका साथ सहयोगी हात बढाएको उनले बताए ।
बीरबलभद्र माविका केही डेस्क बेन्चपनि भाँचिएको अवस्था आँफुले देखेको हुँदा भविश्यमा मेकानिकल अध्ययन गर्ने विद्यार्थीलाई परिचालन गरेर ती पनि मर्मत गर्ने गरि कलेजले ब्यबस्थापन गर्ने प्रमुख आचार्यले जानकारी दिए ।