
सर्लाही, असार ५ । सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जको मृत्यु भएको छ । दोहोरो भिडन्तका क्रममा विप्लवका सर्लाही जिल्ला इञ्चार्ज अन्दाजी ४५ बर्षीय कुमार पौडेल मारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
विहीवार दिउँसो लालबन्दी नगरपालिका वडा नं. १ लखनदेवी खोलाछेउमा प्रहरी र विप्लव माओवादीका नेता कार्यकर्ताको बीचमा दोहोरो गोली हानाहान भएको प्रहरीले दाबी गरेको छ ।
दुई वटा मोटरसाईकलमा सवार चारजना विप्लवका कार्यकर्ताले पहिला प्रहरी माथि गोली चलाएपछि आत्म सुरक्षाको लागि जवाफी कारवाही गर्दा जिल्ला ईञ्चार्ज पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पौडेलको प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । थप तीन जना भने भाग्न सफल भएको पनि प्रहरीले बताएको छ ।
पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ र अर्को अनटेस्ट मोटरसाइकल प्रहरीले कब्जामा लिएको प्रहरीले बताएको छ ।