दाङ, मंसिर १७ । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ४२ बर्षीया नरपुरा बुढा निर्वाचित भएकी छन् । उनले ३६२७ मत प्राप्त गरि निर्वाचित भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्यूटर अपरेटर गेहेन्द्र कँवरले सेतोपाटीलाई बताए ।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन । भूपेन्द्राको गत भदौ २८ गते काठमाडौंबाट घर तर्फ आउँदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको थियो। अहिले निर्वाचित नरपुरा बुढा भूपेन्द्राकी सहोदर दिदी हुन ।
यो गाउँपालिकामा प्रमुख दुइ दल नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा फरक अभ्यास भएको थियो ।
काँग्रेसको रुख चुनाव चिन्हवाट प्रतिष्पर्धामा उत्रिएकी नेकपा (एमाले) की ५५ बर्षीया नेतृ केशकुमारी तुलाचनले २१२८ मत मात्रै प्राप्त गरेकी छन् । तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन ।
मनोनयन दर्ता गराएपनि नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) की सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) सबैले अन्तिममा आएर आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिएका मध्य अधिकाँसले माओबादीकी उम्मेदवारलाई समर्थन गरेका थिए ।
उत्तरगंगा गाउँपालिकामा कुल १११३० मतदाता थिए । मंसिर १६ गतेको उपनिर्वाचनमा ५९३२ मत मात्रै खसेको थियो । त्यो ५३.०३ प्रतिसत हुन्छ । आधा बढी मतदाता मतदानमा सहभागि भएका थिएनन् । पुथा उत्तरगंगा गाउँपालिका माओबादीको पकेट क्षेत्र मानिन्छ ।
वडा नं. २ मा निर्विरोध
पुथा उत्तरगंगा गाउँपालिका – २ को वडाध्यक्ष पदमा माओवादी केन्द्रबाट जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
नेकपा एमालेका जीवन रोका र स्वतन्त्र रूपमा शुकराज बिकले उम्मेदवारी झिकेपछि उनी निर्विरोध निर्वाचित भएका थिए । लुम्बिनीका पाँच जिल्लामा भएको उपनिर्वाचनमध्ये वडाध्यक्ष पदमा निर्विरोध भएको यही एक वडा हो ।
एमाले उम्मेदवारले समेत माओबादी उम्मेदवारको समर्थनमा उम्मेदवारी फिर्ता लिएपछि त्यहाँ आन्तरिक किचलो सुरु भएको थियो । त्यसको प्रभाव गाउँपालिका उपाध्यक्ष पदमा पनि हुने राजनीतिक बृत्तमा विश्लेशनहरु भइ रहका छन् ।
पुथा उत्तरगंगा गाउँपालिका – २ मा २०७९ सालमा पनि माओबादीका जसबहादुर श्रीपाइली विजयी भएका थिए। श्रीपाइलीको पनि गाउँपालिका उपाध्यक्षसँगै सवारी दुर्घटनामा मृत्यु भएको थियो।