२०८१ मङ्सिर २७ गते बिहिवार

उपसभामुख मगरलाई हटाउने सत्तापक्षको तयारी


दाङ,भदौ २६ । उपसभामुख इन्दिरा राना मगरले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै सत्तारूढ दलहरूले उनलाई हटाउने तयारी गरेका छन् । त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन् ।

उपसभामुखविरुद्ध हस्ताक्षर सङ्कलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हिजो बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

लामिछानेले सत्तारुढ दलका सांसदबाट उपसभामुखलाई राजीनामा दिन दबाब दिएकोबारे प्रधानमन्त्रीको धारणा बुझ्न खोजेका थिए ।

प्रधानमन्त्री ओलीले भने संसद्मा उठेको विषय त्यहीँ निराकरण हुने जवाफ दिएका छन् । उपसभामुखले सकभर राजीनामा दिएर मार्गप्रशस्त गराउने सत्तारुढ दलहरूको प्रयास रहेको बुझिएको छ । तर उपसभामुख भने राजीनामा दिने मनस्थितिमा छैनन् ।

उपसभामुखले मार्गप्रशस्त नगरेमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ । यसबारे थप रणनीति बनाउन कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

उपसभामुखले पद अनुकूलको आचरण नगरेमा एक चौथाइ सदस्यले संसद प्रस्ताव दर्ता गर्न सक्ने र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषदको अंकगणितलाई मध्यनजर गरेर सत्तापक्षले उपसभामुख रानामाथि निसाना साँधेको टिप्पणी भइरहेको छ ।

यसअघि उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएको थियो ।

पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसैबेला पनि संसदमा यो विषय उठेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *