दाङ, भदौ १३ ।
बिहीबार बिहान बाँकेमा भएको बस दुर्घटनामा परी दाङ तुलसीपुरका दुईजनाको मृत्यु भएको छ । दाङ तुलसीपुरका बसका सहचालक २४ वर्षिय सन्तोष भुसाल र यात्रु ६० वर्षिय मानबहादुर वलीको बस दुर्घटनामा परी मृत्यु भएको हो ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले मृतक दुबैजना तुलसीपुरको भएको पुष्टि भए पनि तुलसीपुर कुन ठाउँका भन्ने खुल्न सकेको छैन । अन्य घाइतेमध्ये २१ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा, ५ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ । अधिकांस घाइतेको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
घाइतेमध्ये नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि एकजना डिस्चार्ज भएका छन् । दाङको तुलसीपुबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका–६ कोठारपुरमा अनियन्त्रित भई बिहान सवा ११ बजेतिर सडक खण्डमै पल्टिएको थियो ।
कोहलपुर–नेपालगन्ज सडक खण्डमा तीब्र गतिको बसका अगाडिका पट्टा एकाएक भाँचिएपछि बस अनियन्त्रित भइ खण्डमै पल्टिएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी डाँगीले जानकारी दिए । बसका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ ।