बिकाश डाँगी, तुलसीपुर ,भदौ १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङमा पहिरो गएको छ ।
यहाँका एक सय बढी युवाले एकै साथ पार्टी त्यागको घोषणा गरेका छन् ।
रिपोटर्स क्लब तुलसीपुर दाङमा शनिबार पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी त्यागको घोषणा गरेका हुन ।
पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पार्टीका निर्वाचन क्षेत्र नं. २ का सदस्य विजय केसीले पार्टीका सभापति रवि लामिछाने माथि लागेका विभिन्न आरोप, स्टन्टबाजी लगायत कुराले युवाहरूलाई भ्रममा पार्ने कार्य भइरहेको र रबीबाट देशको समृद्धि नहुने दाबी गरे ।
कार्यकर्तालाई अव्यवहारिक तथा अमानवीय तरिकाले जाइलाग्न बाध्य बनाएको कारणले आफूहरूले पार्टी परित्याग गरेको उनले बताएका थिए ।
कुनै रहर, प्रतिशोध र कसैको दबाबमा नभइ केन्द्रीय राजनीति बुझेर नै पार्टी परित्यागको निर्णय गरेको बताएका उनले अब आँफुहरुले ‘स्वतन्त्र अभियान दाङ’ नामक कमिटी गठन गरेर अगाडि बढ्ने जानकारी दिए ।
आफ्ना अभिभावक, छरछिमेकी लगायतको चुनौतीका बावजुद पनि पुरानो पार्टीको विरासतलाई तोड्दै रवि लामिछाने नेतृत्व रास्वपामा लागेको भएपनि उनीहरु झनै अरु भन्दा खराब देखिएको आरोप लगाएका थिए ।
पार्टी नेतृत्वले आफूहरूले दिएका सुझावलाई वेवास्ता गर्दै पार्टी अराजक र दमनकारी शैलीमा अगाडि बढेको उनको आरोप थियो ।
पार्टीको लुम्बिनी प्रदेशको नेतृत्व सम्हालेका व्यक्तिले नै जिल्लालाई चलाएर जिल्लामा विभिन्न किसिमका अवैधानिक र पार्टीको नीति नियम विपरीत कारबाही गर्ने गरेको उनको भनाइ थियो । उनले पार्टीको जिम्मेवारी दिनको लागि पनि योग्यता र उस्को क्षमताको नभई आफ्ना मान्छेहरूलाई जिम्मेवारी दिँदा पुरानै पार्टीको जस्तो चरित्र रास्वपाले देखाएको आरोप लगाए ।
रास्वपामा पनि अन्य पार्टीको जस्तो टिके प्रथाबाट पार्टीको नेतृत्व दिँदा त्यो नयाँ र पुराना पार्टी भन्दा फरक नभएको हुँदा पार्टी त्यागेको स्पष्ट पार्न चाहेका थिए ।
‘रास्वपा पार्टी क्यान्सरबाट ग्रसित भएको आफूहरूलाई महसुस भयो,’ उनले भनेका थिए ‘ जस्को मुख्य आशा भरोसा गरिएको थियो, आज सोही पार्टीको नेतृत्व नै दलदलमा फसेको आभास भयो ।’
पत्रकार सम्मेलनमा पार्टीका तुलसीपुर नगर सभापति मेघराज केसीले पार्टीभित्र चाप्लुसीवाद, नातावाद, धनवाद, पार्टीभन्दा पनि व्यक्तिवादी प्रवृत्ति हावी भएको आरोप लगाए ।
उनले भने,‘ पार्टीले जान्नेलाई छान्ने भन्ने नारा लगाएको थियो । तर, त्यो त्यो व्यवहारमा लागू गर्न सकेन् । पार्टीमा जसले राम्रोसँग काम गरेको छ त्यसलाई पार्टीले टिपेर फाल्ने गर्दा त्यो के कारणले फालेको हो ? भन्ने समेत बुझाउन सकेन् । जोसँग पैसा छ, चिल्ला गाडी छन् , त्यस्ता व्यक्तिहरुलाई पार्टी प्रवेश गराइन्छ । वडाको सदस्य समेत बनाउन नसक्ने व्यक्तिलाई क्षेत्र, जिल्ला, प्रदेशमा जिम्मेवारी दिइयो ।’
जसले पार्टीको लागि दिनरात मेहनत गरेको छ, त्यस्ता मान्छेहरुले अवसर पाउने अवस्था नरहेको बरु नातावाद चाप्लुसीवादले मात्र अवसर पाउँदा आफूहरूले पार्टी छोड्न बाध्य भएको उनको भनाइ थियो ।
उनले भने,‘ यहाँ पार्टी, समाज भन्दा एउटा व्यक्ति ठूलो भयो । जसका कारणले आज हामीले पार्टी त्याग्न बाध्य भएका हौँ ।’
उनले निर्वाचन क्षेत्र नंं ३ का उम्मेदवार कमल सुवेदीको आलोचना गरेका थिए ।
सुवेदीले काठमाडौँ बसेर जिल्ला नगरमा फलानो फलानो व्यक्तिहरूलाई राख्न आदेश दिएपछि आफूले पार्टीको निति नियम र पद्धति अनुसार चल्ने भनेपछि त्यही कारणबाट जिल्लामा विवाद भएको उनले स्पष्ट पार्न खोजेका थिए ।
पार्टीमा गल्ती गर्नेलाई कारबाही गर्दा आफूहरूको त्यसमा कुनै विमति नभएको भन्दै एउटा व्यक्तिले कसैलाई टिके प्रथा र चाप्लुसीका कारण अगाडि बढाउनु खोज्ने कुरामा विमति गर्दा पार्टीले आफूलाई कारबाही गरेको समेत उनले बताएका थिए ।