२०८१ भाद्र २६ गते बुधवार

संघ र प्रदेश यातायात मन्त्रीहरुको संयुक्त बैठक – राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण उल्लेख गर्ने निर्णय

दाङ, भदौ १ । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका यातायात मन्त्रालय विच यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि प्रदेशलाई अधिकार प्रत्यायोजन गर्ने गरि विविध सहमती भएका छन् ।

सेवाग्राहीले भोग्दै आएको समस्या समाधानका लागि प्रदेश तहले नै आवश्यक कामकारवाही गर्ने गरि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सात वटै प्रदेशका यातायात मन्त्रीहरु विच सहमती बनेको हो ।

शुक्रबार राती अबेर सम्म काठमाडौँमा भएको मन्त्रीहरुका विचमा चलेको लामो छलफलले लाईसेन्स (सवारी चालक अनुमती पत्र) मा विवरण सच्याउने अधिकार प्रदेश तहलाई नै दिने निर्णय भएको छ । यसअघि लाईसेन्समा देखिँदै आएका त्रुटी सच्याउनु परे यातायात कार्यालयहरुले यातायात विभागमा सिफारीस गरेर पठाउँदै आएका थिए ।

यो व्यवस्थाका कारण समय बढि लाग्ने र सेवाग्राहीहरुले झन्झट ब्यहोर्नु परिरहेको थियो । शुक्रबार भएको यो निर्णय कार्यान्वयनमा गएको अवस्थामा प्रदेश तहबाटै लाइसेन्समा देखिएका त्रुटि सच्याउन सकिने छ । यसो हुँदा छोटो समयमै त्रुटि सच्चिने र सेवाग्राहीले सहजै सेवा पाउने छन् ।

‘लाईसेन्समा देखिने त्रुटि सच्याउनका लागि विभागमा सिफारीस गराउनु पर्ने र विभागबाट सच्चिएर आउँदा समय लाग्ने भएका कारण सेवाग्राहीहरुले लामो समय सम्म कुर्नु पर्ने अवस्था थियो,’ शुक्रबारको छलफलमा सहभागी लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘अब लाईसेन्समा देखिने त्रुटि सच्याउने अधिकार प्रदेश तहलाई रहने छ, यसो भयो भने चाँडै त्रुटि सच्चिने र सेवाग्राहीले झन्झट बेहोर्नु पर्ने अवस्थाको अन्त्य हुने छ ।’

यो व्यवस्था कार्यान्वयनका लागि यातायात विभागले सफ्टवेवर देखि विभिन्न प्राविधिक सहयोग गर्ने निर्णय भएको मन्त्री न्यौपानले जानकारी दिए । त्रुटि सच्याउने संगै लाईसेन्स अद्यावधिकको काम समेत प्रदेश तहबाटै हुने भएको छ ।


यसैगरि शुक्रबारको मन्त्रीहरुको छलफलले राष्ट्रिय परिचयपत्रमै लाईसेन्सको विवरण समेत उल्लेख गर्ने गरि नयाँ निर्णय लिएको छ । यो अवस्थामा चालकहरुले लाईसेन्स बोक्नु पर्ने अवस्थाको अन्त्य हुने छ । राष्ट्रिय परिचय पत्रमै लाईसेन्सको विवरण समावेश गरिने र यो चेकजाँचका लागि डिभाईसहरुको व्यवस्थापन गरिने निर्णय छलफलले गरेको छ ।

‘चालकहरुले लाईसेन्स बोक्नु नपर्ने गरि राष्ट्रिय परिचयपत्रमै लाईसेन्सको पुरा विवरण राख्ने निर्णय भएको छ,’ मन्त्री न्यौपानेले भने ‘यसको चेकजाँचका लागि प्रदेश सरकारबाट आवश्यक डिभाइसको व्यवस्था गर्ने र ट्राफिक प्रहरीहरुलाई उपलब्ध गराउने निर्णय भएको छ ।’ राष्ट्रिय परिचयपत्रमै लाईसेन्सको विवरण उल्लेख भएमा लाईसेन्स छपाई समेत गर्नु पर्ने र यसले राज्यको आर्थिक व्यवभार समेत कम हुने मन्त्री न्यौपनेले जानकारी दिए ।


यसैगरि छलफलले यातायात कार्यालयहरुबाट हुने राजश्व रसिद कार्डलाई समेत व्यवस्थित गर्ने निर्णय गरेको छ । राजश्व तिरेको रसिद सामन्य कागजमा उपलब्ध हुँदै आएकोमा अब भने क्युआर कोड र फोटो सहितको हार्ड कपीमा रसिद कार्ड उपलब्ध गराईने भएको छ । लाईसेन्स नहुँदा सम्म यसै रसिद कार्डले लाईसेन्स सरह काम गर्ने मन्त्री न्यौपानेले जानकारी दिए ।

कार्डमा हुने क्यू आर कोर्ड चेकजाँच गरेपछि राजश्व बुझाए नबुझाएको एकिन हुने र यसको चेकजाँचका लागि मेशिन उपलब्ध गराउने निर्णय भएको मन्त्री न्यौपानेले जानकारी दिए ।
यसैगरि संघीय र प्रदेशका यातायात मन्त्रीहरुको छलफलले प्रदेश तहमै लाईसेन्स छपाईको व्यवस्थापन गर्ने निर्णय गरेको छ । यसका लागि संघीय सरकारले प्रदेश सरकारलाई प्राविधिक सहयोग गर्ने निर्णय भएको छ ।

‘लाईसेन्स प्रदेश तहबाटै छपाईको काम प्रारम्भ गर्ने भन्ने निर्णय भएको छ,’ मन्त्री न्यौपानेले भने ‘यसका लागि आवश्यक प्राविधिक सहयोग संघीय सरकारले गर्ने छ ।’ यसैगरि यातायात कार्यालयमा हुने सेवाप्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागु गर्ने निर्णय पनि भएको छ ।

यातायात कार्यालयहरुमा बढ्दो भीडका कारण सेवा ग्राहीहरुले बेहोर्नु परिरहेको सास्तीलाई मध्यनजर गर्दै यसको व्यवस्थापनका लागि टोकन प्रणाली लागु गरिने निर्णय मन्त्रीहरुको छलफलबाट भएको छ ।


यसैगरि प्रदेश तथा स्थानीय तहका गाडीहरुमा इम्बोस्ट नम्बर निर्धारण गने, यातायात भाडाको उचित समायोजन लगाएका विषयमा निर्णय भएको छ । यसैगरि प्रदेश तहसंगको समन्वयलाई बढाउँदै आवश्यक छलफल र परामर्शका आधारमा थप निर्णय गर्दै जाने निर्णय छलफलमा भएको छ ।

संघ र प्रदेश तहबिच यातायात क्षेत्रमा थप सुधार गर्नका लागि कार्यदल निर्माण गरिने र आवश्यक बैठक बसेर थप योजना बनाइने भएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *