तुलसीपुर,साउन ३२ । दाङको नारायणपुरस्थित सिद्धरत्ननाथ माद्यामिक विद्यालयले कक्षा ११ मा साउन १३ गतेदेखि कोरियन भाषाको कक्षाहरु औपचारिक रुपमा पहिलो पटक सुरु गरेको छ । जिल्लामा कक्षा ११ र १२ को पढाइ गर्दै आएका ६४ सामुदायिक विद्यालय मध्य कोरियन भाषाको पढाइ सुरु गर्ने सिद्धरत्ननाथ पहिलो बिद्यालय पनि हो ।
अहिले कक्षा ११ मा ६० विद्यार्थीले कोरियन भाषा पढी रहेका छन् । रुकुमदेखि जाजरकोटसम्मका बिद्यार्थी कोरियन भाषा पढी रहेका छन् ।
बिद्यालयले कोरियन भाषा सिक्नेहरुका लागि बिहान अलग्गै कक्षा संचालन गर्दै आएको छ । कोरियन भाषा पढाए बाफत बिद्यालयले एउटा बिद्यार्थी बाट बिद्यार्थी मासिक साढे ६ सयका दरले शुल्क लिइएको छ ।
कोरियन भाषा पढ्ने बिद्यार्थीले दिउँसोमा अन्य बिषयपनि पढ्दै आएका छन् । त्यसका लागि उनीहरुले थप साढे ८ सयका दरले मासिक शुल्क तिर्नु पर्छ ।
बिद्यालयमा शिक्षकहरु कविराम चौधरीले कोरियन भाषा पढाउँदै आएका छन् । बिद्यालयका भाषा शिक्षक श्यामलाल लहरेले बिद्यालयमा पहिलो कोरियन भाषाको पढाइ हुन थालेपछि बिद्यार्थी उत्साहित भएको बताउँछन् ।
बिद्यालयका प्रधानाध्यापक उत्तम खनाल त झनै औपचारिक रुपमै कोरियन भाषाको पढाइ सुरु गरिएपछि बिद्यार्थीको आकर्षण ह्वात्तै बढेको दाबी गरे । बिद्यालयमा कोरियन भाषा पढाउन थालेपछि ब्यापक चर्चा परिचर्चा सुरु भएको र धेरैले फोन सम्पर्क गर्न थालेको प्रअ खनालले बताए ।
प्रअ खनालका अनुसार अन्य विषयहरुका साथै अहिले निकै उत्साहित भएर कोरियन भाषाको कक्षापनि लिइरहेका हुँदा विद्यालयले आउने बर्षदेखि जापानिज भाषाको पढाइ शुरु गर्ने सोचपनि बनाएको जानकारी दिए ।
घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख बिनोद गौतमले पाठ्यकक्रम भित्रकै कुनैपनि बिषय बिद्यालयले आँफुले छानेर पढाउन पाउने सुबिधा रहेको बताए ।
जिल्ला भर कक्षा १२ सम्म पढाइ गर्ने सामुदायिक विद्यालयको संख्या जम्मा ६४ मात्रै छ । ती मध्य नारायणपुरको सिद्धरत्ननाथ मावि ऐच्छिक बिषयको रुपमा कोरियन भाषा पढाउने पहिलो बिद्यालय हो ।