
तस्बिर : ओपेन्द्र बस्नेत
दाङ, जेठ २३ । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य विरबल वलीलाई प्रहरीले उच्च दालत तुलसीपुरको गेटबाटै पक्राउ गरेको छ । वन्दी प्रत्यक्षीकरणमा परेको रिट माथि बिहीबार सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायधिश नहकुल सुवेदी र न्यायधिश ईश्वर पोखरेलको इजलासले गैरकानुनी रुपमा थुनामा राख्न नहुने भन्दै वलीलाई छोड्न आदेश दिएको थियो ।
बिहीबारको रिटमा अधिवक्ताहरु पुष्करबहादुर भण्डारी, श्रीराम चौधरी र हरीबहादुर शाहले बन्दीको तर्फबाट बहस गरेका थिए । वलीकी बहिनी कल्पना वलीले गैरकानुनी थुनामा राख्न नपाइने भन्दै उच्च अदालत तुलसीपुरमा जेठ १९ गते् जिल्ला प्रहरी कार्यालय प्युठानलाई विपक्षी बनाई रिट निवेदन दायर गरेकी थिइन । त्यसैदिन बहस गर्दैै उच्च अदालतले जिल्ला प्रहरी कार्यालय प्यूठानको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । साथै अदालतले जेठ २२ गते शिक्षक वलीलाई समेत उपस्थित गराउन भनेको थियो । तर जेठ २२ गते सार्वजनिक विदा परेको हुँदा प्रहरीले विहीवार मात्रै वलीलाई अदालतमा उपस्थित गराएको थियो । अदालते विहीवार पनि वलीलाई निर्दोश भन्दै छोड्न आदेश दिएको थियो । तर फेरि पनि उनलाई प्रहरीले गेटवाटै पक्राउ गरेको छ । वलीलाई यो सहित तीन पटक अदालते छोड्न आदेश दिएपनि प्रहरीले पक्राउ गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य वलीलाई गत चैत्र २४ गते जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका १३ बनगाउँस्थित घरबाट पक्राउ गरेको थियो ।

पहिलो पटक जिल्ला प्रशासन कार्यालय दाङमा सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा ७ हजार धरौटीमा छोड्न आदेश दिए लगत्तै वलीलाई गेटबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रोल्पा पुर्याइएको थियो । रोल्पामा उनलाई तीनवटा मुद्दा चलाइएको थियो । तर जिल्ला अदालत रोल्पाले गएको जेठ १४ गते ३० हजार धरौटीमा उनलाई छोड्न आदेश दियो । तर वली गेटबाटै पक्राउ परे । त्यहाँ वाट उनलाई प्युठान लगियो । विहीवार पनि वलीलाई तुलसीपुर प्रहरीको सहयोगमा प्युठान प्रहरीले पक्राउ गरेको थियो ।
वलीद्धारा स्वतन्त्र भएर बाँच्न चाहाना व्यक्त
विरबल वलीले आफु स्वतन्त्र नागरिक भएर बाँच्न चाहेको बताएका छन् । पक्राउ पर्नु अघि प्रेस विज्ञप्ति वितरण गर्दै उनले नेपाल सरकारको स्थायी शिक्षक भएको हुँदा आँफु शिक्षक भएर बाँच्न चाहेको बताएका थिए । उनले विज्ञप्तिमा पनि विप्लव माओवादीको आरोपमा पक्राउ परेपछि अदालतबाट दुई पटक सफाइ पाएर पनि पुनः पक्राउ गरिएको हुँदा सहयोगको लागि आयचना समेत गरेका छन् । आफनो शारिरीक अवस्था कम्जोर रहेकोले पनि कुनै राजनीतिमा नलागेर शिक्षण पेशामा निरन्तर लाग्ने विज्ञप्तीमा उल्लेख छ ।
पत्रकारको क्यामरा खोस्ने प्रयास
समाचार संकलनको क्रममा पुगेका पत्रकार ओपेन्द्र बस्नेतको क्यामरा प्रहरीले खोस्ने प्रयास गरेको छ । उच्च अदालतको आदेशमा रिहा भएका वलीलाई पक्राउ गर्ने क्रममा फोटो खिच्न पुगेका पत्रकार बस्नेतलाई सादापोशाकका सुरक्षाकर्मीले फोटो खिच्न रोक लाउदै पटक पटक क्यामरा खोस्ने प्रयास गरेको बस्नेतले जानकारी दिएका छन् ।