२०८१ असार ३१ गते आइतवार

अत्याधिक गर्मी बढेपछि पुनः गर्मी बिदा दिदै स्थानीय तह


तुलसीपुर,जेठ ३० । अत्याधिक गर्मी बढेसँगै जिल्लामा फेरि स्थानीय तहहरूले केही दिनलाई विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गर्मीका कारण सबै भन्दा बढि विद्यार्थीहरू प्रभावित भएका छन् ।

दिनप्रतिदिन गर्मी बढ्दै गएको र विद्यार्थीहरू विद्यालय मै बिरामी हुन थालेपछि केही दिनको लागि विद्यालयले बन्द गरेका हुन् । गर्मीका कारण विद्यालयहरूमा पठन पाठनमा निकै असहज भएको भनी विभिन्न विद्यालय र अभिभावकहरूले बिदा गर्न अनुरोध गरेपछि तुलसीपुर उपमहानगरपालिकाले २ दिन सामुदायिक तथा संस्थागत विद्यालयहरू बिदा गर्ने निर्णय गरेको छ ।


बुधबार तुलसीपुर नगर शिक्षा समितिको निर्णयअनुसार जेठ ३१ र ३२ गरी २ दिन दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीले बताए । उनका अनुसार मौसममा सुधार नभएमा गर्मी बिदालाई निरन्तरता दिइनेछ । यस्तै घोराही उपमहानगरपालिकाले पनि २ दिने बिदा दिएको छ ।

गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो विद्यालयहरूबाट आउन थालेपछि जेठ ३१ र ३२ गरी २ दिन गर्मी बिदा दिने निर्णय भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले जानकारी दिए ।


उनका अनुसार आउँदो साउन १७ र १८ गतेको वर्षे बिदाबाट कट्टी हुने गरी गर्मी बिदा गरिएको हो । यस्तै शान्तिनगर गाउँपालिकाले पनि २ दिने गर्मी बिदा दिएको जनाएको छ । यस्तै अत्याधिक गर्मीका कारण बुधबार विभिन्न विद्यालयका विद्यार्थीहरू बिरामी भएका थिए । तुलसीपुर ११ स्थित अमर मावि उरहरीका विद्यार्थीहरू एक्कासि बेहोस भएका थिए ।


कक्षा ८ मा पढ्ने ५ जना र कक्षा ९ मा पढ्ने एक जना विद्यार्थी एक्कासि बेहोस भएका थिए । गर्मीकै कारण उनीहरूमा स्वास्थ्यमा समस्या आएको उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीले बताए । उनका अनुसार बिरामीहरू बेहोस भएपछि विद्यालयमै पुगेर स्वास्थ्य जाँच गरिएको थियो ।

सबै विद्यार्थीमा गर्मीकै कारण यस्तो समस्या देखिएको उनले बताए । विद्यार्थीहरूमाझ बान्ता आउने, पिसाबमा समस्या हुने, टाउको दुख्ने समस्या देखिएको थियो । गर्मीको समयमा पानी धेरै खानुपर्ने, घाममा धेरै खेल्न नहुने कुरालाई ध्यान दिनुपर्ने उनले बताए । बुधबार दाङमा बुधबार ४०.२ डिग्री सेल्सियस गर्मी छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *