२०८३ असार ६ गते शनिवार

धारामा धमिलो पानी आएपछि…


प्रेम पुन
शान्तिनगर, २२ जेठ ।
पश्चिम दाङको शान्तिनगर–१ खिलतपुरकी हिरा वलीले गत आइतबारदेखि धारामा धमिलो र फोहर पानी आउन थालेपछि धाराको पानी प्रयोग गर्न छाडेकी छन् । धारामा धमिलो पानी आउन थालेपछि उनीलाई खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता भएको छ । उनीमात्र नभई यहाँका प्रायः महिलाहरु खोलाको पानीलाई पिउने पानीका रुपमा प्रयोग गर्दै आएका छन् ।

यस्तै आफूहरुले नियमित पिउँदै आएको धाराको पानी सफा नभएपछि च्याडि खोलाको पानी प्रयोग गर्दै आएको स्थानीय दुजि घर्तिले बताईन् । उनले दुखेसो पोख्दै भनिन्– धाराको पानी प्रयोग गर्न नमिल्ने गरि धमिलो फोहर आउँछ, खोलाको भए पनि पानी लिन वाध्य छौ । बढ्दो गर्मीसँगै कामको चाँप, वेफुर्सदिलो समयमै पानीको समस्या हुँदा लामो दुरीमा रहेको खोलाको पानी पिउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

पञ्चकुले खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गरेको धारामा धमिलो फोहर पानी आउन थालेपछि अहिले उपभोक्तालाई पानीको समस्या परेको हो । खानेपानी मुहान नजिक दोजरले बाटो खन्दा अहिले यस्तो समस्या देखापरेको स्थानीयको भनाई छ । शान्तिनगर गाउँपालिका वडा नं. १ मा मात्र नभई बबई गाउँपालिका वडा नं ६ का स्थानीयले प्रयोग गर्ने धारामा धमिलो फोहर पानी आएपछि उनीहरु खानेपानीको समस्यामा परेका हुन् ।

खानेपानीको समस्याले उपभोक्ता समस्यामा पर्दासमेत पञ्चकुले खानेपानी तथा सरफारई उपभोक्ता समिति र सम्वन्धित सरोकारवालाले कुनै चासो नदिएको उपभोक्ताहरू बताउँछन् । वर्षेनी यसरी नै खानेपानीको अभावका कारण आफूलाई निकै समस्या पर्ने गरेको स्थानीय ओम प्रकाश डाँगीले बताए ।

अध्यक्ष र समितिका केही पदाधिकारीले यो पानी प्रयोग नगरेर अन्यत्रको पानी प्रयोग गर्ने भएकाले यसप्रति उनीहरूले चासो नदिएको डाँगीले आरोप लगाए । शुद्ध पिउने पानी नहुँदा अहिले गाउँपालिकाका विभिन्न वडाका स्थानीयबासीहरु समस्यामा पर्दै आएको उनीहरु बताउँछन् । स्थानीय छवि वलीले भने– नजिक खोला भएकाहरू खोला जान्छन, खोला नजिक नभएकाहरू धमिलो फोहर पानी भए पनि पिउन बाध्य छन्, यसले गर्दा महामारी झाडापखाला र हैजा फैलने खतरा छ ।

गत वर्ष वर्षातको समस्या खानेपानीकै कारण गाउाँपालिकामा झाडापखालाका फैलिएको स्मरण गर्दै वलीले पानीको समस्याले अहिले पनि यो रोग पुनः लाग्न सक्ने डर नागरिकहरुमा छाईरहेको बताए । मोटरबाटो खनेको माटो पानीले बगाएर मुलमा ल्याउँदा यस्तो समस्या आएको शान्तिनगर गाउँपालिका वडा नं १ अध्यक्ष जंगबहादुर पुनले बताए ।

खानेपानीको मुहान संरक्षण भएको छैन, वर्षाैदेखि यस्तै समस्या देखिदै आएको छ, अध्यक्ष पुनले भने– संरक्षण गर्ने प्रयासमा छौ, मुहानदेखि तल पानी शुद्धिकरण गर्ने ट्यांकी निर्माणको काम भइरहेको छ । उपभोक्ताले प्रयोग गर्दै आएको धारामा केही दिनसम्म धमिलो पानि धारामा आएको भएपनि मंगलवारदेखि सफा पानी आएको पुनको दावी छ ।

यता स्थानीयबासीहरूले भने मंगलबार पनि धमिलो फोहर पानी आएको बताउँछन् । स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मोटर बाटो खनेर माटो फालेको उनीहरूको आरोप छ ।

 

 

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *