२०८१ असार ८ गते शुक्रवार

कांग्रेसको अवरोधका कारण संसद बैठक आइतबारसम्मको लागि स्थगित

काठमाडौं,जेठ ११ । प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसको अवरोधको कारण शुक्रबारको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ।

बिहान ११ बजेको लागि तय भएको बैठक साढे १२ बजे सुरु भएको थियो। कांग्रेसको विरोध र अवरोधको कारण सुरु भएको केहिबेरमै सभामुख देवराज घिमिरेले बैठक आइतबार बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन्।

सहकारी रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश(टिओआर) टुंगो लगाउन गठित कार्यदलमा दलहरूबीच कुरा नमिल्दा संसद बैठक ढिला गरी सुरु भएको थियो।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल काग्रेसले उठेर विरोध गरेको हो। बैठकमा बोल्न समय माग गर्दै विरोध सुरु गरेपछि केहीसमय कांग्रेस सांसद र सभामुख घिमिरेबीच ‘भनाभन’समेत परेको थियो।

सभामुखले सदन चल्न दिन प्रतिपक्षी कांग्रेसलाई पटक-पटक आग्रह गर्दा पनि कांग्रेस सांसदपछि नहटेपछि बैठक आइतबारसम्मको लागि सारिएको सभामुखले घोषणा गरेका हुन्। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सदनको तयारी थियो।

शुक्रबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा तीन घण्टाबढी चलेको कार्यदलको बैठकमा कुरा नमिल्दा त्यसको असर संसदमा परेको हो। बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भएपनि सहमति नजुटेपछि आज पुनः बैठक बसेको थियो।

दिउँसो ४ बजे बस्ने गरी बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम हिनामिनामा गृह एवम् उपप्रधानमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन।

बिहान प्रतिपक्षी कांग्रेसको संसदीय दलको बैठक पनि बसेको थियो। संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *