
तुलसीपुर, २० जेठ ।
तुलसीपुर उपमहानगरपालिका–४ मजुवास्थित ठूलाखालीमा नमुना शिवालय मन्दिर निर्माणका लागि जारी महायज्ञ सोमबारसम्म २ लाख ५० हजार बढी दान संकलन भएको छ । नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ शनिबारदेखि शुरु भएको महायज्ञमा सोमबारसम्म २ लाख ५० हजार बढी रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक सुदिप खड्काले जानकारी दिए ।
महायज्ञमा सोमबार सबैभन्दा बढी बिष्णुदेवी शर्मा र चक्रपाणि शर्माले ३० हजार ५५ नगर सहयोग गरेका छन् । त्यस्तै जगतबहादुर बुढाथोकी र चन्द्री बुढाथोकीले २१ हजार ५ दान सहयोग गरेका हुन् । सोमबारमात्रै करिब ९० हजार दान संकनलन भएको संयोजक खड्काले बताए । उनका अनुसार आइतबारसम्म करिब डेढ लाख संकलन भएको थियो ।

‘पानीले प्रभावित बनायो, सोमबार अपेक्षाकृत सहयोगी दाताहरु आउनुभएन तर पनि महायज्ञमा दान गर्ने दाताहरुको दिनप्रतिदिन बढ्दै गएको छ’ उनले भने ‘अब अझै बाँकी दिनमा लक्ष्य अनुसारको दान संकलन गर्न सकिन्छ ।’ धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागि आर्थिक संकलनार्थ महायज्ञको आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक खड्काले बताए ।
शनिबारदेखि शुरु भएको महायज्ञ जेठ २६ गते आइतबारसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञबाट करिब एक करोड संकलन गर्ने लक्ष्य रहेको छ । महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमल्सिना रहेका छन् । महायज्ञमा दैनिक भजनकीर्तन, झाँकी तथा नाटक प्रस्तुत गरीनुका साथै विभिन्न धार्मिक कार्यहरु चौरासी पूजा, लाखबत्ती, विवाह, व्रतबन्ध, व्रत सांगीता, भूमिदान, तुलादान, गौदान लगायतका कार्यहरु गर्न सकिने मूल आयोजक समितिले जनाएको छ ।