२०८१ असार ७ गते बिहिवार

२५ घर जलेपछि राजपुरको हाडबास गाउँका स्थानीको बारीमा बास


तुलसीपुर, बैशाख १६ । राजपुर गाउँपालिकामा – ७ हाडबासमा खरबारीबाट सल्केको आगोले एउटै गाउँका २५ घर जलेर नष्ट भएका छन् ।

गाउँका २७ घर मध्य २५ घर जलेर नष्ट भएपछि स्थानीय बारीमा रात बिताउने तरखर गरि रहेका छन् । जलेका सबै घरहरु खरका छानाका थिए । जोगिएका दुई घरहरु जस्ता पाताका थिए । ती केही दुरीमा पनि थिए ।
खरबारीको आगो सुरुमा स्थानीय सीता भण्डारीको घरबाट बिहान १० बजेपछि आगो सल्किएको स्थानीले जानकारी दिए ।

आगलागीबाट प्रत्यक्ष रुपमा ७९ मानिस प्रभावित भएका छन् ।
स्थानीयका अनुसार गाउँ नजिकै खरबारीमा लागेको आगो नियन्त्रणमा लिने प्रयास स्वरुप बिहान गाउँलेहरु खटिएका थिए । तर, हावा चलेको हुँदा त्यो प्रयास बिफल भएको थियो ।


त्यही खरबारीबाट सुरुमा भण्डारीको घरमा आगो लागेपछि त्यो निभाउन गाउँले पुगेको समयमा तीब्र बेगमा चलेको हावा हुरीको माध्यमबाट अन्य घरमा पनि क्रमिक रुपमा आगो लाग्न पुगेको थियो ।
वडा सदस्य प्रमोद बस्नेतका अनुसार आगलागीबाट खाद्यान्न लत्ता कपडा सबै जलेर नष्ट भएको देखेर बिद्यालयबाट घर फर्किएका कतिपय बालबालिका भक्कानिएर रोएका थिए ।


आगो निभाउन भनेर लमही नगरपालिका र गढवा गाउँपालिका बाट घटनास्थल तर्फ जान खोजेका एक ÷ एक वटा दमकल साँगुरो बाटोको कारण ती गाउँसम्म पुग्न नसकेको वडा सदस्य बस्नेतले बताए ।
हुलाकी सडक राजपुरको वडा नं. ६ सम्म मात्रै पुगेको र त्यो सडकले वडा नं. ७ लाई जोड्न बाँकी रहेको हुँदा वडा नं. ६ को गम्दीदेखि दमकलहरु अगाडि बढ्न नसकेको बडा सदस्य बस्नेतले जानकारी दिए ।


‘ यहाँ गाउँपालिकाले नयाँ ट्रयाक खोलेको भएपनि मुस्किलले ट्रयाक्टर मात्रै गुड्न सक्ने अवस्था छ,’ वडा सदस्य बस्नेतले भने ‘ पानी बोकेर आएका दमकलहरु साँघुरो बाटो र मोडहरुमा घुम्न नसक्दा बाटोमै अड्किएर अगाडि बढ्न सकेनन् ।’
जिल्लाको बिकट मानिने राजपुर जंगल क्षेत्रमा पर्छ । यो भारतसंग सीमाना जोडिएको पालिकापनि हो । आगलागी भएको स्थान बाँकेको राप्ती सोनारी गाउँपालिका – १ खरेबास संग सीमाना जुटेको गाउँ हो ।
आगलागीबाट घरका साथै भित्रका सबै सामान जलेर स्वाहा भएको हुँदा गाउँपालिका र मानव कल्याणले तत्कालका लागि अत्यावश्यक राहात सामाग्री बितरण गर्न थालेका छन् ।


‘ आजलाई पुग्ने खाद्यान्न, त्रिपाल र केही अत्यावश्यक सामाग्री ल्याइ बितरणको प्रयास भइ रहेको छ,’ बस्नेतले भने ‘ बिहान बिद्यालय गएका साना नानीहरु विद्यालय पोशाकमै घर खरानी भएपछि बारीमा बसेर टोलाइ रहेको कारुणिक दृष्य छ ।’


बिद्यालय बाट फर्किएका कतिपय साना बालबालिका घर आगोले खरानी भएको देखेर डाँको छोडेर बिलौना गर्दै रोयको वडा सदस्य बस्नेतले बताए ।
‘ यहाँ के गर्ने कसो गर्ने भन्ने अत्यन्तै अन्यौंल पूर्ण बिपत निम्तिएको छ,’ बस्नेतले भने ‘ गाउँका लगभग सबै घर मात्रै स्वाहा भएका छैनन् घर गाउँसम्म पानी ल्याउने खानेपानीका पोलिथिनका पाइपपनि जलेपछि खाने पानीको समेत बाहिरबाट ल्याउनु पर्ने परिस्थिति निम्तएको छ ।’


राजपुर गाउँपालिका क्षेत्रमा सिंचाई तथा खाने पानीको भरपर्दौ स्रोत छैन । त्यसमा पनि जंगल बीचमा वडा नं. ७ को हाडबासमा झनै पानीको समस्या रहेको र टाढा बाट ल्याइएको खाने पानीको पाइपनि डढेलोले जलेपछि थप समस्या निम्तिएको उनले बताए ।


बेलुका सात बजेसम्मपनि आगो पूर्ण रुपमा नियन्त्रणमा आइ नसकेको उनले जानकारी दिए ।
‘ खरका छाना युक्त घरहरु जलेर खरानी भएपनि घर भित्र र आसपासमा संग्रह गरि राखिएका काठहरुमा अहिलेपनि आगो बलिरहेको छ,’ उनले भने ‘ नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेनाका साथै लमही, गढवा र राजपुरका जनप्रतिनिधिहरु पनि आगो निभाउन प्रयासरत छौं।’


आगलागीबाट केही खसी बाख्रा मरेको भन्ने कुरा पीडितहरुले गरेकोपनि बस्नेतले जानकारी दिए ।
‘ चार पाँच वटा खसी बाख्रा जलेर मरेको भन्ने छ,’ उनले भने ‘क्षतिको विवरण संकलन अझैं भइ सकेको छैन।’ उनका अनुसार झन्डै अढाइदेखि तीन करोडसम्म धनमाल जलेर नष्ट भएको प्रारम्भीक अनुमान गरिएको छ ।


आगलागी भएको क्षेत्रमा फोन सम्पर्कसमेत हुन मुस्किल हुने हुँदा सूचना संकलनमा थप जटिला बनेको प्रहरी अधिकारीहरु बताउँछन् । खरबारीमा कस्ले आगो लगाएको भन्ने बारे अनुन्धान हुन बाँकी रहेको प्रहरी अधिकारीहरु बताउँछन् । कपितयका अनुसार आगो लगाएपछि घाँस तथा खरका मुना झनै राम्रो संग पलाउँछ भन्ने भ्रमका कारण स्थानीयहरुसमेत खरबारी तथा जंगलमा आगो लगाउने गलत अभ्यास रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *