२०८१ बैशाख २१ गते शुक्रवार

प्रतिष्ठानमा एमडी तहको पठनपाठन सुरु


दाङ,बैशाख ८ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एमडी तहको पठनपाठन सुरु भएको छ ।

प्रतिष्ठानले शुक्रबार घोराहीमा एक कार्यक्रम आयोजना गरी पश्चिम क्षेत्रमै पहिलोपटक एमडी तहको पठनपाठन सुरु गरेको जानकारी गराएको छ ।

कार्यक्रममा पोष्ट ग्राजुएट रेसिडेन्सीका रुपमा एमडी तहको ३ वर्षे अध्ययनका लागि भर्ना भएका डाक्टरहरुलाई स्वागत गरिएको थियो ।

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि निर्धारण गरेको ४ वटा सीटमा एमबीबीएस अध्ययन गरिसकेका डाक्टरहरु विद्यार्थीका रुपमा भर्ना भएका हुन् ।

जसअनुसार एमडी जीपीमा २ जना, गाईनोकोलोजीमा १ जना र अर्थोपेडिकमा १ जना भर्ना भएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।

कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनमगरले प्रतिष्ठानले पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवाका साथै शैक्षिक कार्यक्रम सञ्चालन गर्नु ठूलो उपलब्धि भएको बताए ।

पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा विस्तारले आमनागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्माउन यस क्षेत्रबाट धेरैले पहल थालेको स्मरण गर्दै उद्देश्यअनुसार प्रतिष्ठान अघि बढेकोमा सन्तुष्टि व्यक्त गरे ।

प्रतिष्ठानमा गत वर्षदेखि बीएनएस नर्सिङ र बिएससी नर्सिङ तहको पठनपाठन हुँदै आएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *