तुलसीपुर, चैत २७ । तुलसीपुरमा सोमबार भएको नेपाली काँग्रेसको दोस्रो नगर सम्मेलन दुई दाजु भाइ बीचको अन्तरसम्बन्ध बारे बढी केन्द्रित रह्यो । अधिकाँस बक्ताले केन्द्रीय सदस्य द्धय दीपक गिरी र गेहेन्द्र गिरी बीचको अन्तरसम्बन्ध र त्यसले पार्टी भित्र पश्चिम दाङको राजनीतिमा सृजित गुट उपगुटका कुरा गरे ।
नगरका १९ वडा भित्र भइ रहेको संगठन निर्माणको अवस्था, प्रतिष्पर्धी दलहरु र काँग्रेसको अवस्था, अबलम्बन गर्नुपर्ने भावि रणनीति बारे कम चर्चा भयो । बरु गिरी दाजु भाइकै नाममा अनावश्यक रुपमा गुट उपगुट सृजना गरि कित्ताकाटमा रमाउन खोज्ने ब्यक्तिहरु बाटै पार्टीलाई क्षति पुगिरहेको हुँदा त्यो अन्त्य हुुनुपर्ने कुरा उठे ।
दुई गिरी दाजुभाइलाई देखाएर, उनीहरुकै नाममा गुट उपगुटका पसल थाप्न खोज्नेहरुले भ्रम सृजना गर्न खोजेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग गर्ने मध्यका एक काँग्रेस दाङका सहसचिव सुवोधकुमार डाँगीपनि थिए ।
महासमिति सदस्य टीकाराम घर्तीले दुई दाजु भाइ कार्यक्रममा आपसमा अतेन्तै सौहार्दपूर्ण वातावरणमा हाँसी खुसी बस्ने गरेको भएपनि त्यसको अनुसरण कार्यकर्ताले गर्न नसक्नु बिडम्बना मान्नुपर्ने बताएका थिए ।
त्यस्तै अन्य बक्ताहरुले गुट उपगुटमा रमाउन उद्यत प्रबृति बोकेका ब्यक्तिहरुका कारण, गत स्थानीय तहको निर्वाचनमा तुसलीपुर उपमहानगरमा दुई पटक काँग्रेस पराजित हुनु परेको , राप्ती बबई क्याम्पसको स्वीवियु निर्वाचन भइ मतगणना हुन नसकेको हुँदा आउँदै गरेको तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनपनि प्रभावित तुल्याउन सक्ने हुँदा एकताको सन्देश दिन आग्रह गरेका थिए ।
अधिकाँस बक्ताले दुई दाजु भाइ बीचको गुटको कुरा उठाएपछि पूर्व प्रदेश सभा सदस्य शंकर गिरीले संगै बसेका दाजु भाइलाई उठेर हात मिलाउँदै एकताको सन्देश दिने आग्रह गरेका थिए । शंकर गिरीको आग्रहमा दुई दाजु भाइ उठेर एक अर्काको हात समातेर हल्लाउँदै पार्टी भित्र गुट उपगुट नरहेको र आँफुहरु एक रहेको सन्देश प्रवाह गरेका थिए । उपस्थित नेता कार्यकर्ताले त्यसको तालिका पर्राले स्वागत गरेका थिए ।
कार्यक्रम अबधिभर संगै बसेका गिरी दाजु भाइ मञ्चमा हाँसी खुसी बसेका थिए । बक्ताहरुले उनीहरु बीचका गुट उपगुटका कुरा गर्दा दाजु भाइ आपसमा कानेखुसी गर्दैै हाँसी रहन्थे ।
आँफुहरु एकताबद्ध रहेको भन्दै आँफुहरुका नाममा गुट उपगुट सृजना गर्न खोजिनु सही नभएको भन्दै अबदेखि गुट उपगुटका कुरा नगर्न बरु सबै संगठन निर्माणमा लाग्न नेता गेहेन्द्र गिरीले आग्रह गरेका थिए ।
कार्यक्रमलाई जिल्ला उपाध्यक्ष कमानसिंह भारती, जिल्ला सहसचिव राजु आचार्य, क्षेत्र नं. ३ का सचिव जगतबहादुर खड्का, नेताहरु भरत केसी, केशब आचार्य, नदन शर्मा, गोबिन्द मजगैंया, यमप्रशाद पाण्डे, श्याम रेग्मी, महाधिबेशन प्रतिनिधि टोपबहादुर केसी, महाधिवेशन प्रतिनिधि कृष्ण गिरी, नेपाल दलित संघका लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा लगाएत ५५ जनाले सम्बोधन गरेका थिए ।
त्यस्तै अधिकाँस बक्ताले नगरसभापति सुरेश हमाल र उनको कार्यसमितिले गरेको कार्यको प्रसंशा गरेका थिए ।