दाङ, चैत १६ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब अगाडि आउने कुनैपनि चुनाबमा काँग्रेस कार्यकर्ताले रुखमा बाहेक अन्त कतैपनि भोट हाल्नु पर्ने दिन नआउने बताएका छन् ।
‘समुदायमा काँग्रेस कार्यक्रम’ अन्तरगत यात्राका क्रममा शनिबार दाङको गढवा गाउँपालिका – ३ गोबरडिहामा कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले त्यस्तो बताएका हुन ।
‘ अब काँग्रेसका साथीहरु के कुरामा प्रष्ट हुनुभए हुन्छ अब यो भन्दा अगाडिको यात्रामा आउने चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले अब कलमा पनि भोटहाल्ने छैनन्, हँसिया हथौंडामापनि भोट हाल्ने छैनन्, गिलासमा पनि भोट हाल्ने छैनन्,’ थापाले भनेका थिए ‘ काँग्रेसको रुख बाहेक अन्त कतै भोट कसैले हाल्ने छैनन् सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला ।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले चुनाव अघि गरिने गठबन्धनले नेपालको राजनीति र लोकतन्त्रलाई विकृत बनाएको भन्दै थापाले त्यो सच्याउने तथा त्यो फोहर सफा गर्ने कामपनि काँग्रेस आँफैले गर्न जरुरी रहेको तर्क गरे ।
त्यस्तै उनले सुस्ताएर बसेको समाजलाई भरोसा र विश्वास दिलाउनका लागि पार्टी भित्र एउटा अभूतपूर्व एकताको खाँचो औंल्याएका थिए । थापाले भने ‘ आजपनि धेरै समुदाय काँग्रेस भित्रै रहेपनि कता कता काँग्रेसले ठिक ढंगले सम्बोधन गरेन भनेर मन भित्रबाट खुसी हुन सकिरहेको छैन र उनीहरुलाई खुसी बनाउनु पर्ने छ ।’
काँग्रेसले अब केही समय पछाडि पार्टीका बिभागहरु गठन गर्ने तयारी गरि रहेको त्यसपछि समुदायका अगुगाहरु अग्रसर भइ काँग्रेसले गरेका निर्णय तथा जिम्मेवारी भन्न आग्रह गरेका थिए ।
सहकारीको रकम लुट्ने लुटेराहरुले आज बाहिर बसेर काँग्रेसमाथि आरोप लगाइ रहेको देखेर सर्वसाधारण अलमलिएको भन्दै त्यसबाट बुझेर बाहिर निश्कन उनले आग्रह गरे ।
यतिखेर मुलुकको सबैभन्दा ठूलो समस्या समाजले गुमाएको आत्मविश्वास जगाउनु रहेको जोड दिए ।
गुमाएको आत्मविश्वासबाट समाजलाई फेरि एउटा भरोसा र विश्वास दिलाउन जरुरी रहेको बताए ।
समुदायमा काँग्रेस अभियान यात्रामा निस्किउका महामन्त्री थापालाई गोबरडिहामा स्थानीय थारु नेता सर्वसाधारणले झाँकीसहित स्वागत गरेका थिए ।
‘थारु संवाद’ का लागि पूर्व शिक्षामन्त्री स्व. पर्शुनारायण चौधरीको ५५ झ्याले जिर्ण दरबार अगाडि उनले कार्यक्रम गरेका थिए । उनी शनिबार बेलुका नै बाँके तर्फ प्रस्थान गरेका थिए ।